• १२ जेठ २०८१, शनिबार

कुलतबाट निस्केर सचेतनामा सक्रिय

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर ६ गते । युवा लागुऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । तर यहाँ भने त्यस्तो कुलतबाट उम्केर सचेतनामा सक्रिय भएका छन् । यहाँका युवाले जीवनवाटिका नेपाल स्थापना गरेर युवकयुवती, विद्यार्थी र अन्य समुदायमा समेत लागुऔषध र एचआइभी एड्ससम्बन्धी जनचेतना जगाएका हुन् । 

१८ वर्ष पहिला लागुऔषध दुव्र्यसनमा फसेका सात जना युवा जीवनवाटिका नामक संस्था स्थापना गरेर सचेतना अभियानमा लागेका हुन् । लागुऔषधको कुलतमा फसेर सुधार गृहमा पुग्नुभएका ४७ वर्षीय नवीन अर्यालको सक्रियतामा संस्था खोलेर सचेतनाका साथै कुलतमा फसेकालाई छुटाउन लाग्नुभएको हो । 

जीवनवाटिकाले लागुऔषध तथा एचआइभी एड्सबाट प्रभावितको क्षेत्रमा लगातार काम गर्दै आएको छ । अध्यक्ष अर्यालले लागुऔषध दुव्र्यसनमा फसेका ३२ जना महिलासहित १६२ जना युवकयुवतीदेखि उमेर ढल्केकालाई सुधार गृहमा पु¥याएर सुधारेका बताउनुभयो । स्थापनाबाटै धेरैजसो आफ्नै लगानीमा सचेतना जगाउने गरेको बताउँदै अर्यालले सुधार गृहमा समेत आफ्नै लगानीमा लैजाने गरेको बताउनुभयो । सचेतना जगाउन स्थानीय सरकारले सामान्य सहयोग गरेको बताउँदै अर्यालले अन्य खर्च जीवनवाटिकाकै हुँदै आएको छ भन्नुभयो । 

लागुऔषध कुलतमा फस्ने पहिलो स्थान विद्यालय भएको बताउँदै अर्यालले यहाँका करिब एक सय विद्यालयका नौदेखि १२ कक्षासम्मका विद्यार्थीमा पुगेर पटक पटक लागुऔषध बेफाइदा र एचआइभी एड्स सर्ने तथा बच्ने र उपायबारे सचेतना जगाएको बताउनुभयो । जीवनवाटिकाले विद्यालयका साथै चोक, सेना तथा प्रहरी कार्यालय कास्कीमा समेत पुगेर सचेतनामा सक्रिय भएको छ । 

जीवनवाटिकाले १८ वर्षमा ५० हजारभन्दा बढीलाई लागुऔषध र एचआइभी एड्ससम्बन्धी सचेत गराएको जनाएको छ । अध्यक्ष अर्यालले आफू लागुऔषध दुव्र्यसनमा कसरी फसेँ र कसरी कुलतबाट बाहिर निस्केँ भन्ने पुस्तकसमेत प्रकाशन गरेर सचेत गराउनुभएको हो । 

त्रिभुवन आदर्श माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले युवा दुव्र्यसनीमा फसिरहँदा जिल्लामा जीवनवाटिकाले गुन लगाएको बताउनुभयो । दुव्र्यसनमा फसेका धेरै लतबाट बहिर निस्केको बताउँदै हजारौँ युवकयुवती जीवनवाटिकाकै कारण दुव्र्यसनमा फस्नबाट बचेको रेग्मीले बाउनुभयो । जीवनवाटिकाकै प्रयासमा सुधार गृहमा पुगेका नेपाल सरकारका अधिकृत, नेता, व्यवसायी तथा सामाजिक अभियन्ता बनेका छन् । सात जनाबाट स्थापना भएको जीवनवाटिकामा अहिले १३३ जना आजीवन सदस्य तथा ५० जनाभन्दा बढी सक्रिय रूपमा सचेतनामा जुटेका छन् ।