• १५ मंसिर २०८१, शनिबार

कुमाल जातिको परम्परागत पेसा विस्थापित

blog

पर्वतको विहादी पालिका वडा ३ मा पर्ने कुमाल गाउँ ।

प्रनिश गिरी

कुश्मा पर्वत, मङ्सिर ४ गते । पर्वतको विहादी गाउँपालिकास्थित वडा ३ को कुमाल गाउँ केही वर्ष अगाडिसम्म माटाको भाँडाकुँडाका लागि चर्चित थियो । अहिले भने कुमाल जातिको परम्परागत पेसा विस्थापित भई एकादेशको कथा बनेको छ । 

कुमाल गाउँमा माटाका विभिन्न थरी भाँडाकुँडा बनाएर विक्री गर्ने व्यवसाय कुमाल जातिको पुर्ख्यौली पेसा थियो । आयआर्जनको गतिलो माध्यम मानिएको पुर्ख्यौली पेसाबाट अहिलेका युवा भने विस्थापित बनेका छन् । कुमाल जातिका युवा धेरैजसो वैदेशिक रोजगार र अन्य पेसाव्यवसायमा लाग्दा पुर्ख्यौली पेसा विस्थापित बनेको स्थानीय कुमालहरूको भनाइ छ । पुर्ख्यौली पेसासँग सम्बन्धित ज्ञान, सीप र प्रविधि कलाबारे दखल राख्ने युवापुस्ता समेतको खडेरी कुमालगाउँमा लागेको छ । आफ्नो पुर्ख्यौली पेसाको संरक्षण हुनुपर्छ भन्दै आएकी ६८ वर्षीय सुभद्रा कुमालले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “मेरो ससुराबा कविराज कुमालले सधैँ छोरानातिहरुलाई सीप सिकाउन जोड गर्नुहुन्थ्यो तर कसैले चासो दिएनन् । अलिकति काम सिक्दै गरेका पनि विदेश धाउन तिर लागे ।”

पालिकाको वडा ३ मा पर्ने पाखाथर, थारार, थुम्केली, कोखेलथर, तीनघरे भन्ने स्थानहरू कुमाल जातिको बाक्लो बस्ती रहेको क्षेत्र हो । ती सबै स्थानहरूमा बस्ने कुमाल जातिको करिब एक सय घरपरिवार छन् । कुमाल बस्तीमा अगुवा कुमालहरूले माटाका घैँटो, गाग्री, अम्खरा, बौना, चिलिम, सुल्पा, धुपौरो, वर्तनका लागि चाहिने भड्का लगायत सामग्री बनाउने गर्दथे । कुमालहरूले बनाएको सामग्रीहरू रानीपानी, पूर्तिघाट, सेतीवेणी, वेलटारी, पैयुँखोला लगायत स्थानमा हुने मेला र बजारमा विक्री गरिन्थ्यो । कुमालवस्ती नजिकै बसोबास गर्ने ८८ वर्षीय माधव प्रसाद पाध्या भन्नुहुन्छ, “हामीले घरमा चलाउने धेरैजसो गाग्री, घैँटो लगायतका भाँडाकुँडा माटाकै हुने गर्दथे । चाडबाडका बेला अन्नबाली दिएर माटाका भाँडाकुँडा लैजाने गरिन्थ्यो । घैटामा राखेको चिसो पानी पिउँदा स्वाद नै मिठो लाग्थ्यो । माटाका राम्रा भाँडाकुँडा बनाउन यहाँका बलवीर कुमाल, पदम कुमालहरू ज्यादै नै सिपालु थिए ।”  

युवा पुस्ताका टेक बहादुर कुमाल आफ्नो पुर्ख्यौली पेसा विस्थापितबारे भन्नुहुन्छ, “पहिले देउराली भन्ने स्थानबाट भाँडाकुँडा बनाउनका लागि चाहिने उपयुक्त निःशुल्क कालो माटो ल्याइन्थ्यो । त्यो जग्गा पछि व्यक्तिको नाममा गराइयो । नजिकमा उपयुक्त माटो पाउन गा¥हो भयो । प्लाष्टिक र सिल्टेका भाँडाकुँडा सस्तोमा पाइन थाल्यो । माटोका भाँडाकुँडा मानिसले खोज्न छाडे । त्यसपछि हाम्रा पुर्खाहरूले गर्दै आएको पेसा हामीले लिएर हिँड्न कठिन भयो ।”

वडा अध्यक्ष गणेश प्रसाद पराजुलीले कुमाल जातिको पुर्ख्यौली पेसाको संरक्षणका लागि पहल गरेको बताउँदै भन्नुभयो, “अहिले माटोका भाँडा र काठको सामानको महत्त्व फेरि बढ्दै गएको देखेर वडाले कुमाल जातिको पुर्ख्यौली पेसा संरक्षण गर्न लागेको थियो । भाँडा बनाउन जान्ने स्थानीय कुमाल जाति भेट्नै कठिन भयो । युवा पिँढीमा माटाको भाँडा बनाउन जान्ने व्यक्ति छैनन् । माटो समेत पैसा हालेर किन्न खोज्दा पनि नजिकमा पाउन सकिँदैन ।”