• १० मंसिर २०८२, बुधबार

बलेवाबासीको प्रश्न : विमानस्थल किन अलपत्र ?

blog

सार्वजनिक सुनुवाइ कार्यक्रमको गुनासा राख्दै अमलाचौरबासी । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मंसिर १० गते । आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको छ । झण्डै ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रसहित एक हजार एकसय मिटर लामो मैदान ग्राभेल गरिएको छ । 

३० मिटर चौडा विमानस्थलमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रङरोगन गरेपछि विमानस्थल चिटिक्क बनेको छ । २०७८ बैशाखमै विमान उडाउन तयार भएको विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन नसकेपछि निराश बनेको बलेवाबासीहरुले जनप्रतिनिधिलाई विमानस्थल अलपत्र पारेकाबारे जिज्ञासा गरेका छन् । 

विमानस्थलको घेराबारमा अहिले खिया लागिसकेको छ । बनेका संरचना पनि जीर्ण बनेपछि राज्यको लगानी बालुवामा पानी सरह बनेको छ । बागलुङ नगरपालिका वडा १४ को नारायणस्थानमा मंगलबार आयोजित बागलुङ नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बालेवाबासीले निर्माण सम्पन्न भएको वर्षौ भइसक्दा पनि एयरपोर्ट अलपत्र पारिएको बारेमा जिज्ञासा राखेका हुन् ।

स्थानीयको जिज्ञाशा सुनेपछि नगर प्रमुख बसन्तकुमार श्रेष्ठले मालढुंगादेखि बलेवातर्फको सडक कालोपत्र भएलगत्तै विमानस्थल चलाउन सम्भव हुने बताउनुभयो । ‘‘विमानस्थल सेवाको रुपमा नभइ आवश्यकताको आधारमा चल्ने र त्यसमा कम्पनीहरुको व्यवसाय पनि जोडिएकाले चलाउन चलाएर पुग्दैन’’ श्रेष्ठले भन्नुभयो, ‘‘बरु आवश्यकताको आधारमा कम्पनीहरुले प्रतिस्पर्धात्मक रुपमा चलाउने हो ।’’

विमानस्थल स्तरोन्नतिअघि नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेलको पालामा जहाजमा खाली सिट भएमा नगरपालिकाले व्यहोर्नेगरी केही समय जहाज चलाइएको थियो । त्यो बेला नगरपालिकाले दिएको भुक्तानी अझै बेरुजुको रुपमा रहेकाले नगरपालिकाले दायित्व लिएर जहाज चलाउन नसक्ने श्रेष्ठको प्रष्ट पार्नुभयो । 

मैदान कालोपत्र भएकाले कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा सडक सहज भएपछि वायुसेवा कम्पनीहरुले आँफै पहल गर्ने दिन आउने श्रेष्ठको भनाइ छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको कार्यक्रममा स्थानीयले बाँदर आतंकले खेतीबाली लगाउन नपाएको, लगाएको बाली भित्र्याउन नपाएको गुनासो गरेका थिए । 

वडा अध्यक्ष चक्रबहादुर खत्रीले किसानको समस्या समाधानमा वडा तहबाट सम्भव नभएको भन्दै त्यसका लागि राज्यकै ध्यानाकर्षण गराउने आश्वासन दिनुभएको थियो । स्थानीयले वडा कार्यालयमा केही दिनअघि भएको आगजनीबारे पनि जिज्ञाशा राखेका थिए । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र कसले किन आगजनी गरेको भन्ने यकिन नभएको र सबैले यो प्रश्नको जवाफ खोजीरहेको खत्रीको भनाइ छ । 

२०२२ सालदेखि बलेवा विमानस्थलमा जहाजले उडान भर्न सुरु गरेका थिए । पोखरा–बागलुङ राजमार्ग बनेपछि २०५० सालपछि विमानस्थल बन्द भएको थियो । त्यति बेला सातामा तीन दिन जहाजले उडान भर्दा पोखरा, भैरहवा र काठमाडौंका यात्रुहरुले यात्रा गर्थे । चार वर्षअघि विमानस्थल कालोपत्र गरेपछि जहाजले उडान भरेका छैनन् ।