• ११ मंसिर २०८२, बिहिबार

बकैया ५ र ६ जोड्ने पक्की पुल शिलान्यास

blog

कर्मचुली–जुइना सुकौरा खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर १० गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ र ६ जोड्ने कर्मचुली–जुइना सुकौरा खोलामा निर्माण हुने पक्की पुलको बुधबार एक समारोहबिच शिलान्यास गरिएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गर्दै निर्माण कम्पनीलाई तोकिएको समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री बानियाँले संघीय व्यवस्थाले गरिबलाई धनी बन्ने मार्ग खुलाएको र विकासका कार्यहरूले गति लिएको बताउनुभयो । उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने र सुशासनयुक्त समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उत्पादनसँग जोडिने पूर्वाधार आवश्यक भएको बताउँदै पुल तोकिएको समयमा नै पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपियाँ लागतमा १२० मिटर लम्बाइको पक्की पुल निर्माण हुन लागेको हो । प्रारम्भिक लागत अनुमान ८ करोड २४ लाख ६८ हजार ९८५ रुपियाँ रहेकोमा श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपियाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कार्य २०८४ असार ७ गतेभित्र सम्पन्न गर्नु पर्नेछ ।

पुल निर्माणपछि करिब ८ सय घरधुरी लाभान्वित हुनेछन् । हाल पुल नहुँदा बकैया–६ का विद्यार्थीहरू वर्षायाममा विद्यालय आउजाऊ गर्न कठिनाइ भोग्दै आएका थिए । नयाँ पुल निर्माण भएपछि किसान, विद्यार्थी, स्थानीयवासी तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कतर्फ आवतजावत सहज हुनेछ ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीहरूको सहभागिता थियो ।