• १५ मंसिर २०८१, शनिबार

बिक्री नहुँदा किसानले फाले फूल

blog

बिक्री नभएपछि शुक्लागण्डकी–३ का ठाँटीमा सजाएर छाडिएको फूल।तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २ गते। उत्पादित फूल बिक्री नभएपछि तनहुँका कृषकले नदी तथा सडकमा फालेका छन्। गत वर्षभन्दा  यो वर्ष किसानले  तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा  फूलखेती गरे पनि सोअनुरूप फूल बिक्री नभएपछि फाल्न बाध्य भएका हुन्। तिहारमा फूलको व्यापार नभई फाल्नु परेपछि कृषक निराश बनेका छन्। 

तिहारमा फूलबाट राम्रो कमाइ गर्ने फूल व्यवसायीले यस वर्ष भने लगानीसमेत असुल नभएको गुनासो गरेका छन्। भिमाद नगरपालिका–८ भागर कृषक रामचन्द्र पौडेलले फूल बिक्री नहुँदा फाल्नुपरेको बताउनुभयो। 

तिहारमा एक लाख ५० हजार रुपियाँको फूल बिक्री हुने अपेक्षा गरेको आठ हजारको मात्रै बिक्री भएको बताउनुभयो। १२ हजार रुपियाँ बिरुवा खरिदमा खर्च भएको र खनजोत र गोडमेल गर्दा ३० हजारभन्दा बढी खर्च भएको तर आम्दानी आठ हजार भएको उहाँले बताउनुभयो। 

डेढ रोपनी क्षेत्रफलमा लगायतको सयपत्री खेर गएर सेती नदीमा फाल्नुपरेको पौडेलले बताउनुभयो। सोही ठाउँमा व्यावसायिक रूपमा फूल खेती गर्नुभएका तिलबहादुर आलेले गत वर्ष दुई लाखको बिक्री गरेकोमा यस वर्ष ५० हजारको मात्रै बिक्री भएको बताउनुभयो। पहिला ग्राहक बारीमै आएर खरिद गरे पनि यसपटक बजारसम्म पुर्‍याउँदासमेत बिक्री नभएको बताउनुभयो। 

तिहारको लागि बुनेको माला र गुच्छा बिक्री नभएपछि सडकमा फाल्नुपरेको गुनासो आलेले गर्नुभयो। देशका विभिन्न क्षेत्रमा तिहारमा स्थानीय फूलले बजार ओगटिरहेका बेला तनहुँमा भने उत्पादित फूलले बजार पाउन व्यवसायीमा चिन्ता छाएको छ।  

शुक्लागण्डकी नगरपालिका–३ का देउनारायण श्रेष्ठ निक्कै दुःखी हुनुहुन्छ। तिहारमा पाँच हजारसम्मको पनि फूल नबिकेको भन्दै उहाँ लगानीसमेत असुली नभएको गुनासो गर्नुहुन्छ। 

लक्ष्मी पूजाको दिन सबैभन्दा बढी बिक्ने फूल यस वर्ष भाइटीकासम्म पनि नबिक्दा चिन्ता छाएको कृषकले बताएका छन्। सस्तो बिक्री गर्दासमेत फूलले बजार नपाएको व्यवसायीको गुनासो छ। म्याग्दे गाउँपालिका–५ ठुलो खेत, म्याग्दे खोला निवासी सुसन पौडेल फूल बिक्री गर्न समस्या परेको बताउनुभयो।  

बाँझो रहेको चार रोपनी खेतमा चार हजार सयपत्री फूले पनि बिक्री  नभएको गुनासो पौडेलको छ।