लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर १ गते । सूर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठ शनिबारदेखि विधिवत् प्रारम्भ हुनेछ भने आज नहाय खाय (नुहाएर खाने) चलन छ । छठ पर्वको अवसरमा जनकपुरधाम लगायत मधेसका विभिन्न स्थानमा रहेका जलाशयमा छठको बनाइएको छठ घाटको रौनक देखिन थालेको छ ।
छठ पर्वको सुरुवातसँगै यतिबेला छठका धुनले जनकपुरधाम लगायत मिथिला क्षेत्रका जलाशय, गाउँ, टोल, घर र गल्ली गुञ्जाएमान भएका छन् भने अधिकांश घरहरुमा झिलीमिली रङ्गीचङ्गी बत्तीहरु लगाइएकाे छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि कार्तिक शुक्ल सप्तमी तीन दिनसम्म निष्ठापूर्वक विभिन्न विधि गर्दै मनाइने छठ पर्व नहाय खाय (नुहाएर शुद्ध शाकाहारी भोजन खाने) भोलिपल्ट खरनाको विधि गर्दै विधिवत् प्रारम्भ हुने छठका लागि जनकपुरधामका पोखरीका घाटहरु सजाइएका छन् । आफ्नो परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित सूर्यदेवको उपासना गर्दै तीन दिनसम्म मनाइने छठ पर्वको सुरुवात विधिवत् रुपमा शनिबारदेखि सुरु हुन्छ ।
छठ व्रतालुहरुले कार्तिक शुक्ल चतुर्थीको दिन नहाय खाय (नुहाएर शुद्ध शाकाहारी) खाना खाने चलन छ भने त्यसको एक दिन पूर्व अरवा अरवाइन (धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर) शुद्ध शाकाहरी खाएर बर्तालुले छठको तयारी गर्ने चलन छ । छठ व्रत बस्ने महिलाहरुका लागि नहाय खाय गरेपछि छठ पर्व विधिवत् सुरु भएको मानिन्छ ।
व्रत विधानले कात्तिक शुक्ल तृतीया दिन ‘अरबा-अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता जनकपुरधामका बासिन्दा पण्डित गङ्गाकान्त झा बताउनुहुन्छ । अरबा-अर्बाइन’ गरेका बर्तालुले शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय-खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र जलाशयमा गई अस्ताउँदाे सूर्यलाई अर्घ दिइन्छ । यो अर्घलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदाे सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अर्घलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिनेछ ।
दीपावली सुरुवातको सात दिनपछि आस्थाको पर्व छठ प्रारम्भ हुने गर्दछ । छठ पर्वका लागि घर आँगन सफासुघर राखेर पूर्ण तयारीमा जुटेका छन् जनकपुरधामका छठ ब्रतालु महिलाहरु । चार वर्षदेखि छठी माताको ब्रत बस्दै आउनुभएकी जनकपुरधाम उपमहानगरपालिका-८ की गङ्गा साह भन्नुहुन्छ, "छठलाई पवित्र पर्वका रुपमा मानिन्छ । आजकाल मिथिलानीहरुले मात्र नभएर अन्य समुदायले पनि छठ पर्वलाई उतिकै निष्ठापूर्वक मनाउन थालेका छन् ।"
मिथिलाको लोकपर्व मानिने छठका लागि वर्तालुले शुक्ल तृतीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै छठको तयारी थालेका गंगा बताउनुहुन्छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्व र ‘छठी माई’को पुकार गर्दै गीत गाएर यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ ।
सूर्यको उपासनाले सन्तान सुुख र रोगव्याधि नलाग्ने हिन्दु मैथिल जनविश्वास छ । यस पर्वमा भगवान् सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्वमा छठका गीत गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको मैथिली भाषा साहित्यका ज्ञाता मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमर बताउनुहुन्छ ।
जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक हजारौंको सङ्ख्यामा व्रतालुले छठ पर्व गर्ने गरेको अनुमान छ । छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्श स्थापित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुली झैँ सिँगारिएको छ । आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुईपटक मनाउने गरिन्छ ।
छठ पर्वको तयारीमा सजाइएकाे जनकपुरधामका पोखरी ।