• ३१ जेठ २०८२, शनिबार

नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आग्रह

blog

बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागीहरु । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ ३० गते । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा बालबालिकाको लागि लिएका नीति तथा तयार पारेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । 

बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालले शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका महिला र वालवालिकाका सवालहरुमाथिको छलफल कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा नीति तथा योजना आयोग मधेश प्रदेशका सदस्य डा. रिना यादवले मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएका नीति तथा कार्यक्रममा बालबालिकाको शिक्षामा पहुँच र सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न माग गर्नुभयो ।

कार्यक्रममा नीति तथा योजना आयोगका अर्का सदस्य ललिताकुमारी यादवले प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मेरो स्वास्थ्य मेरो जिम्मेवारी तथा स्वास्थ्य नागरिक समृद्ध प्रदेश अभियानलाई प्राथमिकतामा राखेको भन्दै यस्ता अभियानहरुको प्रभावकारी कार्यान्वयनका लागि सबैले आफनो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा समेटिएका महिला र बालबालिकाका सवालहरुको प्रभावकारी कार्यान्वनमा जोड दिनुभयो ।

कार्यक्रममा बाल विवाहविरुद्ध प्रदेश स्तरीय सञ्जालका कार्यक्रम संयोजक प्रसंशा सिंह  र कार्यक्रम अधिकृत अर्जुन साहसहितले आफनो धारणा व्यक्त गर्नुभएको थियो ।