• ४ जेठ २०८१, शुक्रबार

छठ नजिकिएसँगै बढ्यो माटोका भाँडाको माग

blog

सदरमुकाम जलेश्वरमा लाग्ने साप्ताहिक हाटमा विक्री गर्न राखिएको माटोको भाँडा। तस्विर : महेशकुमार दास ।

महेशकुमार दास  

जलेश्वर, मङ्सिर १ गते । तराई मधेसमा हर्सोउल्लासका साथ मनाइने पर्व छठ नजिकिएसँगै मधेसका प्रमुख व्यावसायिक केन्द्र तथा ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा माटोको भाँडा विक्रीमा वृद्धि भएको छ । मधेस प्रदेशको आठै जिल्लामा लाग्ने साप्ताहिक हटियामा अहिले माटोको भाँडाको विक्री बढेको हो । 

यसका साथै ग्रामीण क्षेत्रमा माटोको भाँडा टाउकामा बोकेर विक्री गर्नेहरुको समेत ओइरो लाग्न थालेको छ । छठमा आवश्यक पर्ने माटोको दीप(दिवौरी), अर्घ दिन आवश्यक पर्ने कोसिया, कुरवार, हाती, घैटो, ढकना लगायतको माटोको भाँडा विक्रीमा वृद्धि भएको रतवाडाका कुमाहार शत्रुघन पण्डितले बताउनुभयो ।  

छठ पर्वमा अनिवार्य रुपमा माटोका नयाँ भाँडावर्तन प्रयोग गर्ने चलनका कारण अहिले बजारहरुमा माटाका भाँडावर्तन खरिद गर्न आउनेहरुको भिड पनि बढेको पण्डितले बताउनुभयो ।  पण्डितका अनुसार पर्व जति जति नजिकिँदै जान्छ खरिद गर्न आउनेहरुको सङ्ख्या पनि उत्तिकै बढ्दै गएको छ ।   

मिथिला परम्परामा भव्यताका साथ मनाइने प्रमुख पर्व छठमा माटोको नयाँ भाँडा अनिवार्य भएकाले मधेस प्रदेशका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देख्न सकिन्छ । मुख्य व्यापारिक केन्द्रहरुमा लाग्ने हटियामा अहिले दर्जनौँको सङ्ख्यामा माटाका भाँडावर्तन विक्री गर्नेहरुले पसल थापेको र खरिद गर्नेहरुको भिड बढेको देख्न सकिन्छ । 

मिथिला क्षेत्रमा माटोका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढने गरेको माटोको भाँडा बनाउने कुम्हारहरु बताउनुहुन्छ । एक साताको अन्तरालमै माटोको भाँडा विक्री गरेर राम्रो आम्दानी गरेको जलेश्वर नगरपालिका १३ धवौलिका रामभरोसि पण्डितले बताउनुभयो । यता माटोको भाँडा विक्री वृद्धि भएसँगै माटोको भाँडा बनाउने कुम्हालेहरुलाई भाँडावर्तन बनाउन र बजारसम्म पुर्‍य ाएर विक्री वितरण गर्न भ्याइनभ्याई छ । 

माटोका भाँडा बनाउन कुम्हारहरु एकलैले नभ्याएपछि उनीहरु सपरिवार दिनरात एक गरेर माटोका भाँडा बनाउने कार्यमा खटिएका छन् । विक्री वृद्धि भएपछि कुम्हालेहरुको आम्दानी बढेको उहाँहरु बताउनुहुन्छ । मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटोका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाकाे प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाडपर्व विशेषमा मात्रै चल्ने गरेको जलेश्वर १३ धवौलिका कुम्हार काशिराम पण्डितले बताउनुभयो । अहिलेको कमाइले सालभरिको नगद खर्च जोहो गर्नुपर्ने हुँदा काम गर्न भ्याइनभ्याई भएको पण्डितको कथन छ । 

छठ पर्वमा अवसरमा प्रदेशभरिमा एक करोडभन्दा बढीको माटाका भाँडाको कारोबार हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताउनुभयो ।