• ११ मंसिर २०८१, मङ्गलबार

शैक्षिक कोषका लागि देउसीभैलो कार्यक्रम

blog

फाइल तस्विर

दमौली, कात्तिक ३० गते । तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ । 

तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् । व्यास नगरपालिका-१२ छिर्कनेस्थित अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलो खेलेर दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् । विद्यालयमा स्थापित गरिब तथा विपन्न एवम् जेहेन्दार विद्यार्थी सहायता कोषको सहयोगार्थ विद्यार्थीले भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् । ‘मेरो अमरज्योति म बनाउँछु’ अभियानअन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिनुभयो । 

उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको कोषमा रकम जुटाउन विद्यार्थीले भैलो सुरु गरेका छन् । यो केही दिन जारी रहन्छ ।”

यसैगरी भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले भैलो खेलेर चार लाख बढी रकम सङ्कलन गरेको छ । विद्यार्थी, शिक्षक, कर्मचारीले तीन दिनको अवधिमा उक्त रकम जुटाएका हुन् । यो रकम विद्यालयको भवन निर्माणमा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले जानकारी दिनुभयो । 

यसैगरी व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले छात्रवृत्ति कोषका लागि भैलो सुरु गरेको छ । क्याम्पसका विद्यार्थीले गरिब, अपाङ्ग, जेहेन्दार, विपन्न एवम् पिछडिएको वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोषमा रकम जुटाउने उद्देश्सहित भैलो सुरु गरेको हो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले भन्नुभयो, “लक्ष्मीपूजाको दिनदेखि भैलो खेल्न सुरु गरिएको छ । भैलोबाट सङ्कलित रकम विद्यार्थीको हितमा प्रयोग हुन्छ ।”

व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले पनि भैलो कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य शैक्षिक संस्था, आमासमूह, क्लब लगायतले पनि निश्चित उद्देश्य राखेर भैलो खेलिरहेका छन् । रासस