काठमाडौँ, कात्तिक ३० गते । तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एकसय ६५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको छ । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।
सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थिए । करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसैबिच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ । रासस