• ७ जेठ २०८१, सोमबार

लक्ष्मीपूजामा १४ सय मेगावाट विद्युत् माग हुनसक्ने, ४०० मेगावाट भारत निर्यात

blog

झिलिमिली काठमाडौं ।

काठमाडौं, कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन आइतबार साँझ विद्युतको उच्च माग (पिक डिमाण्ड) एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले गतवर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ पिक डिमाण्ड ९५ मेगाावाट बढ्ने प्रक्षेपण गरेको हो । 

कुनै समय लोडसेडिङको चपेटामा परेर लक्ष्मीपूजा अन्धकार रातमा मनाउन पर्ने अवस्था थियो । तर अहिले भने विद्युत् पर्याप्त रहेका कारण गाउँ, सहर नै झिलिमिली भएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार अहिले उद्योग व्यवसाय, कलकाखानाहरु बन्द रहने भएका कारण माग अनुसारको डिमाण्ड पुर्‍याउन खासै समस्या छैन ।

उहाँले भन्नुभयो, “लक्ष्मीपूजाको साँझको पिक डिमाण्ड एक हजार ४०० पुग्ने प्रक्षेपण गरिएको छ । अहिले करकारखाना, व्यवसायहरु बन्द रहेका कारण माग अनुसारको विद्युत् सजिलै पुग्छ ।”

गतवर्ष पिक डिमाण्ड एक हजार ३०५ मेगावाट थियो । उहाँका अनुसार उत्पादन भएजतिको माग नै नभएकाले पहिले जस्तो व्यवस्थापन गरेर बसिरहनुपर्ने अवस्था भने छैन ।

उहाँले भन्नुभयो, “नेपालमा भएजतिको माग नै छैन, त्यसैले पहिलेजस्तो माग गरेअनुसारको विद्युत् आपूर्ति पुग्दैन कि भनेर भारकेन्द्रमै बस्नुपर्ने अवस्था छैन ।”

प्राधिकरणले विभिन्न स्थानमा प्रसारण लाइनको मर्मत सम्भार र स्तरोन्ततिको कामसमेत गरेको थियो । लक्ष्मीपूजामा कुनै समस्या नआओस् भनेर मातहतका सबै निकायलाई अलर्ट गरेको उहाँले सुनाउनुभयो ।

प्राधिकरणले प्रणालीमा प्रर्याप्त रहेको ४०० मेगावाट विद्युत् लक्ष्मीपूजाकै दिन भारत निर्यात गर्न लागेको छ । नेपालको उत्पादान एक हजार ८०० मेगावाट हाराहारीमा रहेकाले नेपालमा खपत भएर बाँकी रहेको ४०० मेगावाट विद्युत् भारत निर्यात गरिने भट्टराईले बताउनुभयो ।

प्राधिकरणको तथ्याङ्क अनुसार अहिले समग्र सिस्टमको पिक डिमाण्ड एक हजार ९८५ मेगावाट छ । जसमा नेशनल पिक डिमाण्ड एक हजार ५६७ मेगावाट छ । औद्योगिक लोड घटेसँगै नेशनल पिक डिमाण्ड पनि घटेको छ । प्राधिकरणका अनुसार केही दिन पहिलेसम्म एक हजार ७०० मेगावाट नेशनल पिक डिमाण्ड थियो ।

प्राधिकरणले नौ हजार ६६८ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीले सात हजार ४१९ मेगावाट आवर, निजी क्षेत्रले २१ हजार ३१६ मेगावाट आवर उत्पादन गरिरहेका छन् । आन्तरिक खपत भएर बढी भएको आठ हजार ९५४ मेगावाट आवर बिजुली भारत निर्यात भइरहेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध–जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भएपछि नेपालले विद्युतमा गुणात्मक फड्को मारेको हो ।

तर आत्मनिर्भर हुन भने सकेको छैन ।  हिउँदमा ४५० मेगावाटसम्म भारतबाट आयात गरेर आन्तरिक माग पूरा गर्ने गरिएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।