• १४ मंसिर २०८१, शुक्रबार

२५ लाखभन्दा कमका विकास योजना माग नगर्नु : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । तस्बिरः हरि कोइराला ।

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक २५ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सांसदसँग २५ लाख भन्दा कमका विकास योजना माग नगर्न आग्रह गर्नुभएको छ। 

मोरङको पथरीशनिश्चरे–४ जरायोडोलमा प्रदेश सरकारको सहयोगमा गणेश अम्बिका प्रतिष्ठानले निर्माण गर्ने सामुदायिक भवनको शिलान्यास गर्दै उहाँले सो कुरा बताउनु भएको हो।

मुख्यमन्त्री कार्कीले प्रदेश सांसदलाई पनि वडाध्यक्ष जस्तै ढेड दुई लाखका साना योजना माग्ने गरेकोले देखिने गरी विकास नभएको उल्लेख गर्नुभयो। वडासँग १ लाख, नगर/गाउँसँग २ लाख , प्रदेश र सङ्घका सांसदसँग २/४ लाख रुपियाँ मागेर निर्माण हुने आयोजनाले समृद्धि नआउने बताउँदै उहाँले पैसा छर्दैमा विकास नहुने धारणा राख्नुभयो। 

मुख्यमन्त्री कार्कीले सरकार टिकाउन कसैसँग पनि सम्झौता गरिरहनु नपर्ने बताउँदै अब सरकारले सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। अध्यादेशबाट आएको बजेट स्वीकृत भएपछि प्रतिस्थापन बजेट ल्याउनुपर्ने अवस्था रहेकोले अलि बढी सरकारी काम मै व्यस्त रहनु परेको उहाँले बताउनुभयो। 

कोशी प्रदेश सरकारको एक प्रदेश निर्वाचन क्षेत्र एक सामुदायिक भवन कार्यक्रम अन्तरगत निर्माण हुन लागेको सामुदायिक भवन २०८१ को जठ २० गते सम्ममा बनिसक्ने छ। स्थानीय गणेश भण्डारीले आफ्ना छोराको स्मृतिमा पाँच कट्ठा जग्गा दान गर्नुभएपछि प्रदेश सरकारले सो स्थानमा सामुदायिक भवन बनाउन लागेको हो। 

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोे र ४ नम्बर वडाका वडाध्यक्ष लोककिरण न्यौपाने बोल्नुभएको थियो।