• १३ असोज २०८१, आइतबार

ऋणमाथि ऋणकै भारी

blog

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१ मा चर्किएको घर देखाउँदै भूकम्प प्रभावित । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, कात्तिक २५ गते । आठबिसकोट नगरपालिका–११, चौरका ३४ वर्षीय डिल्लीबहादुर विकले चार वर्षअघि सात लाख खर्च गरेर बनाएको घर भूकम्पले चिरैचिरा बनाइदियो । भारतको कमाई र ऋण सापट गरी बनाएको घर बस्नै नहुने बनाएपछि दाउरा राख्न बनाइएको कटेरोमा बस्दै आएका डिल्लीबहादुरलाई चिन्ता छ, अब घर कसरी बनाउने ? 

उहाँले भन्नुभयो, “घर बनाएको ऋण तिरेकै छैन, भूकम्पले फेरि ऋण बढायो । अब ऋण तिर्न कालापहाड जानुको विकल्प छैन ।”उहाँका अनुसार, बाहिरबाट हेर्दा घर केही नभएको जस्तो छ । देख्दा चिटिक्क छ तर घरको चारैतिर भूकम्पले चिरा परेको छ । स्थानीय ५२ वर्षीय कोमल खत्रीका छोराले नौ लाख खर्च गरी बनाएको घरको ऋण तिर्न भारततिरै कमाई गर्दै छन् । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता खत्रीलाई आएको छ । उहाँले भन्नुभयो, “घर कसरी बनाउने, ऋण कसरी तिर्ने ? भन्ने पिरलोले उहाँलाई निद्रा परेको छैन ।” 

स्थानीय शेरबहादुर खत्री खनालले भन्नुभयो, “पहिलेको ऋण तिरेकै छैन, अब घर बनाउँदा कसरी तिर्ने ?” जाजरकोटको भेरी नगरपालिका–१, रावतगाउँका दीपक नेपालीको व्यथा पनि उस्तै छ । घर बनाएको ऋण तिरिनसक्दै अर्को घर बनाउनुपर्ने बाध्यता परेको छ । उहाँले भन्नुभयो, “भूकम्पले ऋणमाथि ऋणको भारी थपिदियो ।”

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको भेरी र नलगाड नगरपालिकाका सयौँ घर भूकम्पले क्षतिग्रस्त बनाएको छ । कच्ची र पुराना घर सबै भत्किएको छ । केही अलि ठुला घर बस्नै नमिल्ने गरी चिरा परेका छन् । चिरा परेको घरले झन् जोखिम बढाएको छ । चिरा परेको घरलाई पनि पूर्ण क्षतिमा राख्नुपर्ने माग पीडितको छ । डिल्लीबहादुर विकले भत्केको घर मात्र होइन चिरा परेर बस्न नमिल्ने घरलाई पनि पूर्ण क्षतिमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले लगत सङ्कलन गर्ने बेला चिरा परेका केही घरलाई आंशिक क्षतिमा राखेको पाइएको बताउनुभयो । उहाँले बस्न नमिल्ने घरलाई पूर्ण क्षतिमा राखेर सोही अनुसारको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिश्चन्द्र शर्माले भौतिक संरचना क्षतिको लगत सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । 

उहाँले मानवीय क्षति नभएका पालिकामा भौतिक संरचनामा क्षति पुगेको उल्लेख गर्दै लगत सङ्कलन गरेपछि मात्र यकिन गर्न सकिने उल्लेख गर्नुभयो । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबारसम्म राखेको तथ्याङ्क अनुसार भूकम्पका कारण कर्णालीका सात जिल्लामा १३ हजार १२९ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । ३७ हजार २९९ वटा घरमा आंशिक क्षति पुगेको छ । समग्रमा भूकम्पका कारण ५० हजार ४२८ वटा घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । 

सबैभन्दा धेरै क्षति जाजरकोटमा भएको छ । जसमा पूर्ण क्षतिमा नौ हजार ७९४ वटा र आंशिकमा २४ हजार ७०७ वटा घरमा क्षति पुगेको छ । रुकुमपश्चिममा पूर्ण क्षतिमा तीन हजार १७४ वटा र आंशिकमा आठ हजार ३५८ वटा घरमा क्षति पुगेको जनाइएको छ ।