विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २४ गते । झापाको अर्जुनधारा नगरपािलका– १० मा भएको आगलागी परेर एक वृद्धाको मृत्यु भएको छ । बिहीबार राति ९ बजेतिर शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा भाग्न नसकेर शिवकुमार राईकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर मृत्यु भएको हो ।
यसैगरी, ७३ वर्षीय श्रीमान् राई घाइते भएको प्रहरी जनाएको छ । दुबै खुट्टामा जलेर चोट लागेका उहाँलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको स्थानीयहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार आगो प्रहरी र स्थानीयवासीको सहयोगमा राति १० बजे नियण्त्रणमा लिइएको थियो । दुई वृद्धवृद्धा बस्दै आएको टहरामा आगलागीको कारण नखुलेको र यस विषयमा छानबिन भइरहेको रिजालले बताउनुभयो ।