• १३ असोज २०८१, आइतबार

कर्पोरेसनले बढायो चिनीको कोटा

blog

काठमाडौँ, कात्तिक २४ गते ।  साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पु¥याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।

कर्पोरेसनका व्यवस्थापक व्रजेश झाले हालसम्म पाँच सयभन्दा बढी खुद्रा पसलले आठ हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेसनबाट खुद्रा व्यापारीमार्फत बजारमा गइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका पसलहरूले कर्पोरेसनबाट चिनी लिन सक्छन् । 

कर्पोरेसनले सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी ११२ रुपियाँ ५० पैसामा खुद्रा पसललाई चिनी बिक्री गरेको जनाएको छ । विभिन्न पेय पदार्थ र जुस उत्पादन कम्पनीले चिनी उद्योगीसँग खरिद गरेर उद्योगमै राखेको चिनी हाल तिहार र छठलाई अभाव नहोस् भनेर सरकारको विशेष पहलमा कर्पोरेसनमार्फत बजारमा पठाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । गएको एक साताको बिचमा उद्योगमार्फत तीन हजार मेट्रिक टन चिनी कर्पोरेसनमार्फत बजारमा आएसँगै चिनी सहज हुँदै गएको उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार बजारमा पर्याप्त चिनी आइसकेकाले नेपाल र भारत सरकारले जिटुजी गरेको चिनी आउन केही ढिला भए पनि समस्या हुँदैन । अहिले बजारमा चाहिने जति चिनी छ । उक्त चिनीको खुद्रा मूल्य प्रतिकेजी ११५ रुपियाँ तोकिएको छ । 

कर्पोरेसनले असोज तेस्रो सातादेखि चाडपर्वलक्षित सहुलियत मूल्यको चिनी प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । 

कर्पोरेसनका अनुसार सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी कर्पोरेसनले आफ्ना सहुलियत मूल्य पसलमार्फत उपभोक्तालाई बिक्रीवितरण गरेको हो । 

दसैँतिहार, छठ जस्ता मुख्य चाडपर्वमा देशभर ३५ हजार मेट्रिक टन चिनी खपत हुने गरेको आँकडा छ तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् । त्यसो त सरकारले कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतसँग जिटुजीमार्फत २० हजार मेट्रिक टन चिनी आपूर्तिका लागि अनुमति दिइसकेको छ । 

खाद्य कम्पनीले पनि थाल्यो चिनी बेच्न

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चिनी बिक्री गर्न थालेको छ । कम्पनीले कर्पोरेसनसँग चिनी लिएर प्रतिकेजी एक सय रुपियाँमा बिक्री गर्न थालेको हो । कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले केही दिनदेखि बजारमा चिनीको अभाव भएकाले तत्काल अभाव चिर्न कर्पोरेसनबाट चिनी खरिद गरेर बिक्री सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त चिनी प्रतिउपभोक्ता दुई केजीका दरले उपलब्ध गराउँदै आएका छौँ । कम्पनीको थापाथली केन्द्रमा चिनी उपलब्ध भएको छ । दसैँअघि प्रतिकेजी ९७ रुपियाँमा चिनी बिक्री गरेको कम्पनीले मौज्दात सकिएको भन्दै बिक्री बन्द गरेको थियो ।