धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक २३ गते । मधेश प्रदेशको समग्र स्वास्थ्यको समिक्षा तथा आर्थिक वर्ष २०७९–८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय तीन दिने वार्षिक समिक्षा गोष्ठी बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ ।
गोष्ठीको नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नथुप्रसाद चौधरीले उद्घाटन गर्नुभयो । उद्घाटनसत्रमा उपाध्यक्ष चौधरीले तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक वजेट परिचालन गरे पनि मधेश प्रदेशमा पुँजिगत खर्च निकै कम भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले कार्यालयहरुले समयमै कार्यक्रम गरी पुँजिगत खर्च बढाउन आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि आवश्यक ऐन कानूनको कमी नभएको भन्दै ती कानूनलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले पोषणको क्षेत्रमा मधेश प्रदेश निकै कमजोर भएको भन्दै स्थानीय उत्पादनलाई बढाबा दिएर प्रयोगमा ल्याउने किसिमको कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवम् मधेश प्रदेशसभाका महिला, वालबालिका तथा न्याय समितिका सभापति रुपा यादवले स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशकै मान्छेहरु विभिन्न ओहदामा रहँदा पनि स्वास्थ्य अवस्थामा सुधार नहुनु दुःखको विषय भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोद यादवले मधेश प्रदेशमा विगतको तुलनामा धेरै सुधार भएको भए पनि त्यसले नहुने भन्दै स्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक जिल्लाको प्रादेशिक अस्पताललाई १५ वेडवाट १०० वेडमा स्तरोन्नति गरिएको र सिरहाको प्रादेशिक अस्पताललाई १५० वेडमा परिणत गरिएको बताउनुभयो ।
कार्यक्रममा एचआइभी रोग नियन्त्रण महाशाखा काठमाडौंका प्रमुख डा. संजय ठाकुरले जनसंख्याको अधारमा बजेट विनियोजन हुनुपर्ने भन्दै मधेश प्रदेशको समग्र स्वास्थ्यको सुधारमा सबैको भुमिका महत्वपूर्ण भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका स्वास्थ्य निर्देशक राजिव झाले मधेश प्रदेशमा विशेषज्ञ चिकित्सकसहित कर्मचारीको अभाव रहेकाले स्वास्थ्य क्षेत्रका निकायलाई सेवा दिनमा समस्या भइरहेको बताँउदै ९८ प्रकारका औषधि दिन बजेट अपुग भएको बताउनुभयो ।
गोष्ठीमा मधेश प्रदेशको आठ वटै जिल्लाका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । स्वास्थ्यको समग्र विषयमा छलफल हुने जनस्वास्थ्य अधिकृत देवकान्त झाले जानकारी दिनुभयो ।