• १२ मंसिर २०८१, बुधबार

दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण

blog

पूर्वपश्चिम राजमार्गमा सार्वजनिक सवारी चलाउने चालक र सहचालकको हेटौँडामा आँखा परीक्षण गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक २३ गते । 
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार एकसय पाँच जना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलाउने चालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा ५० प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक धर्मराज यादवले जानकारी दिनुभयो । उहाँले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधि समेत वितरण गरिएको बताउनुभयो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाका लागि आँखा परीक्षण गरिएको बताउनुभयो । ‘‘सवारी दुर्घटना न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले हामीले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेका हौँ,’’ उहाँले भन्नुभयो । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४० सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर र ५२ जना सामान्य घाइते हुनुभएको छ । ट्राफिक कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्षमा २५२ सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको थियो भने २०५ जना गम्भीर र ४०६ जना सामान्य घाइते हुनुभएको थियो ।