• ६ माघ २०८१, आइतबार

सेनाले बर्थिङ सेन्टर निर्माण गर्ने

blog

बर्थिङ सेन्टरको शिलान्यास । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, कात्तिक २३ गते । 
नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा प्रसूति गृह (बर्थिङ सेन्टर) निर्माण गर्ने भएको छ ।

नवलपुरस्थित भैरवीदल गणले ‘कुइक इम्प्याक्ट प्रोजेक्ट’अन्तर्गत आफ्नो ४५ लाख ४९ हजार १४० रुपियाँ ८२ पैसा बजेटबाट चार कोठे पक्की बर्थिङ सेन्टर भवन निर्माण गर्ने भएको हो । हीरापुरस्थित वडा कार्यालय परिसरमा रहेको चौरमा निर्माण हुने बर्थिङ सेन्टरको बिहीबार सेनाको मध्यपूर्वी पृतना बर्दिबासका पृतनापति एवम् उपरथि प्रेमध्वज अधिकारी र बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

नगरप्रमुख कटुवालले सामाजिक सेवामा समर्पित भई सेनाले बर्थिङ सेन्टर बनाइरहँदा नगरपालिका पनि साथमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बर्थिङ सेन्टर निर्माणपश्चात् यसको सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणको व्यवस्था नगरपालिका आफैँले व्यवस्थापन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ग्रामीण भेगमा पर्ने वडा नं. ११ मा अझै पनि प्रजनन समस्या धेरै रहेको अवस्थामा नेपाली सेनाले बर्थिङ सेन्टर निर्माण गरिदिएपश्चात् यहाँका विपन्न वर्गका गर्भवतीलाई प्रसूति सेवा लिन सहज हुने नगरप्रमुख कटुवालको भनाइ छ । त्यस्तै, उपरथि अधिकारीले नेपाली सेनाले नागरिकसँग नजिक रहेर सेवा गर्ने अभियानअन्तर्गत यस्ता सामाजिक काम गर्दै आएको बताउनुभयो ।

उहाँले बर्थिङ सेन्टर निर्माण भई सञ्चालन भएपश्चात् शिशु तथा मातृ मृत्युदरमा कमी आउने विश्वास व्यक्त गर्नुभएको छ । चालू आर्थिक वर्षभित्रमा एक तले चारकोठे बर्थिङ सेन्टर भवन निर्माण गरिसक्ने गरी राजेश एण्ड रन्धिर कन्स्ट्रक्सन प्रा.लि. बरहथवासँग सम्झौता भएको भैरवीदल गणका गणपति एवम् प्रमुख सेनानी सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी भवन तयार पारिने छ । बर्थिङ सेन्टर शिलान्यास कार्यक्रममा नं. ९ बाहिनी सिन्धुलीका बाहिनीपति एवं सहायक रथी प्रकाशबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रहरी प्रमुख प्रवीण धिताल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुङ्गे, सशस्त्र प्रहरी नायब उपरीक्षक उद्धव वन, बरहथवा नगरपालिका ११ का वडाध्यक्ष नवराज राईलगायतको आतिथ्यता रहेको थियो ।