• ११ मंसिर २०८१, मङ्गलबार

भूकम्प र जीवन

blog

विसं २०८०, कात्तिक १७ गते अर्थात् नोभेम्बर ३ तारिक २०२३ शुक्रबार पश्चिम नेपाल (जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर) गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ३५ हजार मानिस घरबार बिहीन भएका छन्, १७ हजार सात सय घर पूर्ण रूपमा भत्केका र १७ हजार पाँच सय घर आंशिक रूपमा चर्केकाले बस्न नमिल्ने भएका छन् । शुक्रबारको भूकम्पमा परेर कुल १५३ जनाको ज्यान गएको छ, तीमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् भने २६४ जना घाइते भएका छन् । त्यस भूकम्पपछि मात्रै कर्णालीमा हालसम्म चार म्याग्निच्युडभन्दा माथिका नौ वटा पराकम्प गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । 

हिजो आज अलि धेरै भूकम्प जाने गरेको हो कि ? आखिर जीवन त सबैको उही हो, राजाको होस् वा फकिरको जीवन र मृत्युको समयमा दुवै एकै हुन्छन् । एउटै श्मशानमा एउटा घाटमा राजा जल्दै हुन्छ अर्को घाटमा फकिर । जीवनको अर्थमा कोही राजा वा कोही फकिर हुँदैन, मानवतामा कुनै विभेद हुँदैन । समानताको जल्दो बल्दो उदाहरण हो यो तर जन्मदेखि मृत्युसम्मको जीवन अवधिमा मानवतामा विभेद किन ? खाने भातै हो, जाने घाटै हो । सबै समान हो तर यो के को प्रतिस्पर्धा हो ? हामी भ्रममा छौँ । जीवन कर्कलाको पानी हो । भूकम्पमा आफन्त बिते झैँ आफैँ बित्न पनि सकिन्थ्यो तर बाँचियो नि । जीवन रह्यो तर कस्ट अझै बढ्यो, आफन्त गुमाएको पीडाले जीवन झन् दुखित बनाएको छ । एक पलले बाँचियो तर पलपल मर्नु परिरहेको छ गरिबी, अभाव, र त्यसमाथिको यो प्राकृतिक प्रकोपले यो जीवन झन् खल्लो पारेको छ । किन हाम्रो मानवता पैसामा जोखिन्छ ? किन हामी तेरोमेरो ठुलोसानो, लोभमोह, र घमण्ड जस्ता भ्रममा बाँचेका छौँ ? हामीले भ्रम छोड्नु पर्छ मानव भएपछि मानव भएर बाँच्नु पर्छ । यो भूकम्प पीडादायक भए पनि सजगताको सूचक हो ।

भूकम्प के हो ?

भूकम्पबाट नै नेपालको उत्पत्ति भएको हो । धेरैलाई अचम्म लाग्न सक्छ । करिब चार अर्ब साठी करोड वर्षअघि यो पृथ्वीको उत्पत्ति भएको थियो । यसको सतहमा सात वटा ठुला र अन्य सानातिना धेरै प्लेट रहेका छन् । इन्डियन प्लेटले युरोएसियन प्लेटसँग चार करोड पचास लाख वर्ष पहिले ठक्कर खान थालेको मान्यता छ । त्यसबेला यस क्षेत्रमा टेथिस सागर अवस्थित थियो । भूकम्प जाँदै ( दुई टेकटोनिक प्लेट ठक्कर खाँदै) गर्दा उक्त समुद्र लोप हुन पुग्यो र संसारकै कान्छो तर उच्च शिर हिमालय पर्वत सगरमाथाको जन्म भयो । कालीगण्डकीमा पाइने शालीग्राम (जीवाश्म) नै यहाँ सागर भएको प्रमाण हो । भूकम्प नयाँ सिर्जनाको आधार हो । यही आधार आजको नेपाल हो । आन्तरिक आधारमा आएको टकरावले माथि जमिनमा आउने कम्पनलाई नै भूकम्प भनिन्छ । यो कम्पन ज्यादै डरलाग्दो हुन्छ । आजसम्म भूकम्पबाट करोडौँ मानिसको ज्यान गइसकेको छ । गोपाल राजवंशावली अनुसार विसं १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको थियो । झन्डै आठ सय वर्षको नेपालको भूकम्पको इतिहास अध्ययन गर्दा ५० वटाभन्दा बढी ठुला भूकम्प गएको देखिन्छ । भूकम्पले धेरै धनजनको नोक्सानी गरेको छ । अनियन्त्रित स्वेच्छिक घर निर्माण नै भूकम्पले ज्यान लिने प्रमुख कारण हो । भूकम्प आउँछ, भूकम्पले धेरै क्षति गरेको छ, राजा नै भूकम्पले मरेको देश, भूकम्पले नै बनेको देश, असाध्यै धेरै भूकम्प जाने सम्भावना भएको देश नै नेपाल हो तर हामी बिर्सिन्छौँ । २०७२ सालको पीडा हामीले बिर्सिसकेका थियौँ । जाजरकोट भूकम्पले झस्काएको छ । पुनर्निर्माणमा सजगता अपनाउन निर्देशित गरेको छ । घर बनाउनु पर्छ, चिहान होइन । घरको नाममा हामीले धेरै जसो भारतीय रड तथा सिमेन्ट जम्मा गरेर चिहान निर्माण गर्ने गरेका छौँ, अब गुणस्तरीय कामतिर लागौँ । 

जीवन के हो ?

जीवन प्रकृतिले दिएको अमूल्य उपहार हो । जन्मदेखि मृत्युसम्मको दिन र रातको यात्रा हो । जीवन सुख दुःखको समिश्रण हो । जीवन धर्म, अर्थ, काम, र मोक्ष प्राप्तिको साधन हो । जीवन धर्म गर्न हो । जीवन धर्म गरेर अर्थ कमाउनका लागि हो । जीवन परिवार, माया, मोह, काम, तथा भोगको साधन हो । जीवन सुख भोगको साधन हो । जीवन मोक्ष प्राप्तिको मार्ग हो । जीवन भनेको प्रकृतिले दिएको अमूल्य उपहार प्रकृतिलाई नै समृद्ध बनाउने र प्रकृतिकै काखमा विलिन हुनु हो । यही माटोका फूल हामी यही माटोमा मिल्नु । फूल जस्तो जीवन फूलमय हुनु पर्छ । फूलले जस्तै चारैतिर सुवास फैल्याउनु पर्छ, रमाइलो गर्नु पर्छ खुसी बाँड्नु पर्छ । आखिर एकबारको जीवन न हो, खुसी सुखी हुनु पर्छ तर हाम्रै लोभ र अज्ञानताले, ठुलाठुला भव्य महल बनाउने सपनाले, हाम्रा सपनाका बालुवाका महलहरू भूकम्पले ढल्नाले अमूल्य जीवन पनि यसै गरी अकालमा पर्ने गरेको छ । फूल जस्तो जीवन, काँडा जस्तो बनिदिन्छ । जीवन के हो बुझ्न नपाउँंदै जीवनको अन्त्य हुन्छ । जीवनका लागि बनेका हाम्रा घर नै हाम्रो जीवन लिने चिहान बन्ने गरेका छन् । जीवन सुखमय हुन्छ अर्थात् हुनु पर्छ, जिन्दगीभरि कमाएको पैसाले चिहान निर्माण गर्नु मूर्खता वा घमण्ड मात्रै हो । प्रेम भए झुपडी पनि महल नै हुन्छ । जीवनमा धन मात्र होइन प्रेम सद्भाव र विश्वास पनि चाहिन्छ । जीवन काँडा कि फूल ? यो आफैँमा भर पर्ने कुरा हो । जीवन फूल बनाए फूल बन्छ काँडा बनाए काँडा बन्छ । घर बनाए घर बन्छ चिहान बनाए चिहान बन्छ  । जीवनका लागि घर बनाउनु पर्छ । चिहान होइन, कम्तीमा पनि अब घर बनाउँदा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरौँ । आफ्नो सभ्यता र संस्कृतिको संरक्षण गरौँ । 

निष्कर्ष 

भूकम्पले फूल जस्तो जीवन उखेलेर फाल्छ  । अमूल्य जीवन खेर जान्छ । आफन्त परिवारलाई यो भूकम्प जीवनभरिको घाउ बनेर बस्छ । मर्ने त अकालमा मर्छ नै, बाँच्ने पनि उसको यादले पलपल मरिरहेको हुन्छ । कर्णालीमा विश्वको आँखा पुगेको छ । विश्वभरिबाट सहयोग आउँंदै छ यद्यपि कर्णालीमा धेरै पहिलेदेखि नै प्रशस्त डलर आउने गरेको हो । समस्या व्यवहारमा छ, सानो ठुलो, तेरो मेरो भन्ने सोचमा छ । तेरो मेरो होइन हाम्रो भन्ने सोच बनाउनु जरुरी छ । बरु पालमै २/४ वर्ष बसेर भए पनि भव्य सभ्य कर्णाली निर्माणमा लाग्नु पर्छ । यो भूकम्प सम्भावित क्षेत्र हो, फेरि पनि भूकम्प आउँछ, त्यसैले अबको पुनर्निर्माण पूर्ण रूपले भूकम्प प्रतिरोधात्मक हुनु पर्छ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगले केवल चामल किन्ने होइन, कमसल रड–सिमेन्टको पुत्ला बनाउने होइन । कर्णालीको जनताको पारम्परिक 

स्वस्थ, आवास, स्थानीय उत्पादन, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्ने हो । भूकम्प दुःख त हुँदै हो तर योजनाबद्ध विकास गरे समृद्धिको आधार हो । भयानक भूकम्पपछि विभिन्न देशले अत्यन्तै राम्रो प्रगति पनि गरेका छन् । यो दुःखद घटना भविष्यको मार्ग निर्देशक बनोस् । सुन्दर र समृद्ध कर्णाली बनोस् ।

  

Author

बिपी बडाल