• १५ असार २०८१, शनिबार

गुणस्तरहीन फूलको अवैध आयात रोक्न पहल

blog

काठमाडौँ, कात्तिक २३ गते । कृषि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशभरका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्राचार गरेको छ । 

केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयलाई फूलको गुणस्तर परीक्षणका लागि पत्राचार गरेको हो । केन्द्रले बिरुवा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार देशबाहिरबाट आउने वनस्पतिजन्य वस्तुमा रोग, किराको परीक्षण गर्ने गरेको छ । 

केन्द्रका प्रवक्ता तथा वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले तिहार फूलको पर्व मानिने र जथाभाबी रूपमा रोग, किरा लागेका फूल तथा माला भित्रिन सक्ने सम्भावना भएकाले स्वस्थताको प्रमाणपत्र नभएका अवैध फूल नेपाल भित्र्याउन रोक्नका लागि ती कार्यालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

तिहारमा नेपालमा मखमली र सयपत्री फूल बढी खपत हुन्छ । सस्तोको लोभमा जथाभाबी रोग, किरा लागेका फूल भित्रिने सम्भावना पनि त्यति नै हुन्छ, त्यसकारण गत वर्षदेखि नै केन्द्रले चेकजाँचमा कडाइ गरेको छ । 

विदेशबाट आउने फूलको प्लान्ट क्वारेन्टाइन परीक्षणलाई कडाइ गर्नुको उद्देश्य बताउँदै आचार्यले स्वदेशमा उत्पादित फूलले बजार पाओस् भन्ने रहेको बताउनुभयो । केन्द्रका अनुसार कुनै पनि कृषि र वनस्पतिजन्य वस्तु एक देशबाट अर्को देशमा आवतजावत गराइरहँदा स्वस्थता र कुनै खालको हानिकारक रोग, किरा नभएको प्रमाणपत्र (फाइटो सेनेटरी सटिर्फिकेट) अनिवार्य हुन्छ । 

नेपालमा बर्सेनि भारतलगायतका मुलुकबाट करोडौँ रुपियाँ बराबरको फूल आयात हुने गर्छ । अझ तिहारमा आयात उच्च हुने गर्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ३३ करोड रुपियाँ बराबरको विभिन्न प्रकारका फूल आयात भएको थियो भने ६८ लाख बराबरको पुष्प निर्यात भएको एसोसिएसनले जनाएको छ । 

एसोसिएसनका अनुसार फूलको कारोबार हरेक वर्ष बढ्दो छ । चालु आव २०८०/८१ मा करिब चार अर्ब बराबरको फूलको कारोबार हुने अनुमान एसोसिएसनको छ । आव २०७९/८० मा तीन अर्ब १० करोड रुपियाँभन्दा बढीको कारोबार भएको थियो । हरेक वर्ष फूलको माग र कारोबार बढेकाले चालु आवमा चार अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

एसोसिएसनका अनुसार नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ । जसमा दुई सयभन्दा बढी क्षेत्रफलमा सयपत्री खेती भइरहेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार सयपत्री फूलको व्यावसायिक उत्पादन सातै प्रदेशमा भइरहेको छ । प्रदेश सरकारले व्यावसायिक फूल खेतीमा लगानी गर्न थालेपछि उत्पादन बढ्न थालेको जनाइएको छ ।