कबिराज घिमिरे
हिले, कात्तिक २१ गते । धनकुटा नगरपालिका–७ बसपार्कमा श्रीमती र तीन छोराछोरीसहित भारतको भण्टाबारीका मुन्ना शर्मा ढुङ्गाबाट जातो, ओख्खल, लोहोरो र सिलौटो कुदेर बिक्री गरिरहनु भएको छ ।
उहाँले दैनिक जिविकोपार्जन गर्न कुदेका उक्त वस्तु पाँच सयदेखि १५ सय रुपियाँसम्ममा बिक्री गर्नहुन्छ । उहाँले ढुङ्गा खरिद गरी उक्त सामग्री बनाइ बजार र गाउँमा बिक्री गर्ने गर्नु भएको छ । यो पेसाबाट मुन्नाले आफ्नो परिवारको जिविकोपार्जन राम्रोसँग चलेको बताउनु हुन्छ । जातो, ओख्खल र सिलौटो सहित अर्डर आएको खण्डमा विभिन्न मूर्तिहरु समेत निर्माण गर्ने गरेको उहाँ बताउनु हुन्छ ।
यो कार्यमा श्रीमान श्रीमती खटिने गर्नु भएको छ । प्रायः श्रीमती शिजा सर्मा बसपार्क छेउमा बसेर यस्ता सामग्री निर्माण गरिरहनु हुन्छ । श्रीमान मुन्न निर्माण भएका सामग्री विभिन्न स्थानमा गएर बिक्री गर्ने गर्नु हुन्छ । फुर्सद भएको समयमा उहाँले समेत ढुङ्गाका सामग्री निर्माण गर्नु हुन्छ ।
यी सामग्री निर्माण गर्न प्रयोग गरिने ढुङ्गा समेत भारतबाटै आयात हुने गरेको छ । “नेपालको ढुङ्गालाई धेरै मेहनत गर्नेपर्ने तथा भारतबाट काटेर ल्याएको ढुङ्गा थोरै मेहनतमै सामग्री बनाउन सकिने भएकाले भारतबाटै ढुङ्गा ल्याएर निर्माण गर्ने गरेको छौ” शर्मा भन्नु हुन्छ ।
पहिले पहिले प्रविधि नभित्रिदासम्म मसला, मकै, दाल आदि पिस्न जातो, ओख्खल र सिलौटो आदि प्रयोग हुन्थ्यो । जो नेपाली कारीगढलेनै स्थानिय ढुङ्गा प्रयोग गरी निर्माण गर्थे । तर पछिल्लो समय आधुनिक सामान पाउन थालेसँगै जातो, ओख्खल र सिलौटा लोप हुँदै गएको छ । योसँगै नेपाली कारिगढ समेत यो पेसाबाट छोड्न पुगे । तर पछिल्लो समय पुनः भारतीय कारिगढले यो निर्माण गरी बिक्री गर्दै आएका छन् ।
विद्युतीय उपकरण बजारमा आउन थालेपछि अहिले जातो, ओख्खल र सिलौटो लोप हुँदै गएको छ ।
विद्युती उपकरणमा पिसिएको वस्तु जातो वा सिलौटोमा पिसेको जस्तो स्वाद नहुने भए पनि छिटोको लागि विद्युती उपकरण प्रयोग गर्ने गरिएको प्रयोगकर्ताहरु बताउँछन् ।
त्यस्तै बजारमा तयारी अवस्थाकै मरमसला लगायत आवश्यक सामग्री भेटिने भएकाले पनि यो हराउँदै गएको जानकारहरु बताउछन् । अझ जातोे पिस्नका लागि मात्र नभई घरमा रहँदा मात्र पनि धार्मिक हिसाबले राम्रो मानिन्छ । तर लोप भएका यस्ता सामग्री अहिले भारतीय नागरिकले बनाएर बिक्री गरिरहेका छन् । ढुङ्गाबाट यी सामान बनाउन निकै गाह्रो हुने गरेको भए पनि बिक्री गर्न भने कुनै समस्या नभएको शिजा शर्मा बताउनु हुन्छ । “यो बनाउन अलि असहज हुन्छ धेरै मेहनत गर्नु पर्छ तर बनाएको सामग्री बिक्री गर्न समस्या छैन,” शर्मा भन्नु हुन्छ ।
जिल्लाको सदरमकाम धनकुटा बजार मात्र नभइ अन्य स्थानमा समेत भारतीय कारिगढले यस्ता सामग्री बनाएर बिक्री गरिरहेका हुन्छन् । पछिल्लो समय यस्ता सामग्री पिस्न मात्र प्रयोग नगरी धेरैले घरमा सजाउन समेत प्रयोग गर्ने गरेका छन् ।