• १६ असार २०८२, सोमबार

युवाहरू उद्यम र सीप विकासमार्फत राष्ट्र निर्माणमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

blog

काठमाडौँ, असार १६ गते । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको छ । 

उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्को आयोजनामा सोमबार काठमाडौँमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्धन सम्मेलन’ लाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

‘युवाका लागि अबको निकास: उद्यमशीलता, रोजगारी र सीप विकास’ नारासहित आयोजित सम्मेलनमा उहाँले युवाहरूको साहस, सृजनशीलता र सम्भावनालाई नेपालको उज्ज्वल भविष्यको आधारका रूपमा उल्लेख गर्नुभयो । ‘नेपालको कुल जनसङ्ख्याको ठुलो हिस्सा ओगट्ने युवा शक्ति आजको यथार्थ मात्र होइन, उज्यालो भविष्यको सुनिश्चितता पनि हो,’ उहाँले भन्नुभयो, ‘युवाहरू नवप्रवर्तनशील सोच र उद्यमशील दृष्टिकोणका साथ राष्ट्र निर्माणमा अग्रपङ्क्तिमा उभिनुपर्छ।’

उपराष्ट्रपति यादवले राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय सम्मेलनहरूबाट केन्द्रीय तहसम्म आइपुग्दा उद्यमशीलता प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा प्रशंसा गर्नुभयो । यस्ता सम्मेलनले सरकारका नीति र कार्यक्रमलाई युवासँग जोड्न, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्न र स्टार्टअप संस्कृति प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा उपराष्ट्रपति यादवले जलविद्युत, पर्यटन, कृषि, जडीबुटी, साना तथा घरेलु उद्योग र डिजिटल उद्यमजस्ता क्षेत्रमा युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो चाहना छ– नेपाली युवा समस्या मात्र नहोस्, स्वयं समाधान पनि बनोस्,’ उहाँले भन्नुभयो,  ‘यसका लागि सशक्त वातावरण, अनुकुल नीति, वित्तीय पहुँच र युवाप्रतिको विश्वास अपरिहार्य छ।’

उहाँले युवाहरूलाई व्यवसाय सुरु गर्न आवश्यक पुँजी, सीप र मार्गदर्शन प्रदान गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान, वित्तीय निकाय र नागरिक समाजले साझा जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले बेरोजगारी घटाउन र युवालाई स्वरोजगारका लागि प्रेरित गर्न यो सम्मेलन कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले सम्मेलनको सफलताका लागि आयोजक राष्ट्रिय युवा परिषद्लाई बधाई दिँदै युवाहरूको सृजनशीलता र जोसलाई व्यावहारिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउन शुभकामना व्यक्त गर्नुभयो ।