• ६ कात्तिक २०८१, मङ्गलबार

भूकम्पका घाइतेकाे उपचार सरकारले निःशुल्क गर्ने

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत

काठमाडौं, कात्तिक १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिनुहुँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘त्यही उपचार गर्नु पर्ने घाइतेहरूको उपचार त्यही गर्छौ । त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमी हुने छैन ।’’

मन्त्री बस्नेतले आफू स्वास्थ्यमन्त्री भएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकाले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमी नगर्ने दाबी गर्नुभयो ।

मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।  जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १३३ भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै बिहानै जाजरकोट पुगिसक्नुभएको छ ।