• १२ साउन २०८१, शनिबार

डायलासिस सेन्टर बन्द हुँदा बिरामी मर्कामा

blog

काठमाडौँ, कात्तिक १८ गते । गोङ्गबुस्थित नेसनल डायलासिस सेन्टर अप्रत्यासित रूपमा बन्द हुँदा उक्त केन्द्रमा नियमित डायलासिस गर्ने बिरामी मर्कामा परेका छन्। डाइलासिस सञ्चालकले तीन वर्षको भाडाबापतको बक्यौता रकम नदिएपछि घरबेटीले डायलासिस केन्द्र बन्द गर्न दबाब दिएका थिए। 

बुधबारदेखि डायलासिस सेवा बन्द भएपछि बिरामीहरूले सेन्टरमा धर्नासमेत दिएका थिए। केन्द्रका सञ्चालक कृष्ण महर्जनले तीन वर्षअघिदेखिको घर भाडाबापत १८ लाख रुपियाँ नदिएपछि डायलासिस केन्द्र बन्द भएको हो।  

महर्जनसँग सम्झौता गरेर अर्का सञ्चालक विनय थापामगरले सो केन्द्र भदौदेखि सञ्चालनमा ल्याउनुभएको थियो। सञ्चालक थापामगरले तीन वर्षदेखिको बक्यौता रकम ५० लाख रुपियाँभन्दा बढी रहेकाले बाध्य भएर सेन्टर बन्द गर्नुपरेको जानकारी दिनुभयो। “घरबेटीलाई आफूले सञ्चालन गरेपछिको मात्र हिसाब गर्न भनेको थिएँ,” थापामगरले भन्नुभयो, “एक दिन आएर ममाथि पनि हातपात भएपछि मैले बाध्य भएर डायलासिस केन्द्र बन्द गराएको हो।”  

डायलासिस केन्द्रलाई सूचीकृत गर्ने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको बताउनुभयो। कसैले लिखित निवेदन दिएको अवस्थामा बुझेर कारबाही गर्न सकिने उहाँको भनाइ छ। “देशभर डायलासिस गर्ने ९१ स्वास्थ्य संस्था रहेका छन्, निरौलाले भन्नुभयो, “सबैलाई अनुगमन गर्न सकिँदैन तर गुनासो आएको अवस्थामा अनुगमन गरी तत्काल कारबाही गर्न सकिन्छ।” उहाँले डायलासिसका बिरामीलाई तत्काल डायलासिस गरिएन भने मृत्यु हुने भन्दै उनीहरूका लागि अन्य स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न सकिने बताउनुभयो। 

डायलासिस केन्द्रका यसअघिका प्रमुख कृष्ण महर्जन हाल सम्पर्कविहीन हुनुहुन्छ। आफूले केन्द्र सञ्चालन गरेपछि स्वास्थ्यकर्मीको कात्तिकसम्मको तलब दिएको थापामगरको भनाइ छ । उहाँले उल्टै आफ्नो २० लाख रुपियाँ डुबेको गुनासो गर्नुभयो। यता बिरामी प्रताप गुरुङले २८ जना मिर्गौला फेल भएका बिरामीले उक्त केन्द्रमा नियमित डायलासिस गराइरहेको जानकारी दिँदै अकस्मात केन्द्र बन्द हुँदा समस्यामा परेको जानकारी दिनुभयो। उहाँले नौ जना बिरामीलाई सीतापाइलास्थित सुवेक्षा अस्पतालमा लगेर डायलासिस गराएको बताउनुभयो। उहाँले अन्य बिरामीलाई राष्ट्रिय मिर्गौला उपचार केन्द्रलगायतमा डायलासिस गराइरहेको जानकारी दिनुभयो।