• १२ मंसिर २०८१, बुधबार

अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसङ्ख्या बढ्दै

blog

काठमाडौं, कात्तिक १७ गते । अष्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसङ्ख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अष्ट्रेलियाली नागरिकको अनुपात बढेको हो ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियामा विदेशमा जन्मेका मानिसकाे जनसङ्ख्या २०२१ र २०२२ को बीचमा एक लाख ५५ हजार बढेको छ । जुन ३०, २०२२ सम्म, ७.७ मिलियन अष्ट्रेलियाली बासिन्दाहरू विदेशमा जन्मिएका थिए । जुन कुल राष्ट्रिय जनसङ्ख्याको २९.५ प्रतिशत हो ।

सन् २०२० र २०२१ को बीचमा अष्ट्रेलियाको विदेशमा जन्मेको जनसङ्ख्याको हिस्सा २९.९ प्रतिशतबाट घटेर २९.३ प्रतिशतमा झरेको छ । यो सङ्ख्या सन् १९९९ पछि पहिलो पटक घटेको हो । सन् २०१२ र २०२२ को बीचमा अष्ट्रेलियामा भारतमा जन्मेका व्यक्तिहरू सबैभन्दा छिटो बढ्दो आप्रवासी समूह थिए, त्यसपछि चीनमा जन्मेका र नेपालमा जन्मेका मानिसहरू छन् ।

सन् २०२२ सम्ममा अष्ट्रेलियाको कुल जनसङ्ख्याको २.३ प्रतिशत चिनियाँ मूलका बासिन्दा थिए, जुन २०१२ मा १.८ प्रतिशत थियो । सोही अवधिमा इङ्ल्याण्डमा जन्मेका अष्ट्रेलियाली नागरिकको हिस्सा ४.४ प्रतिशतबाट ३.७ प्रतिशतमा झरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल