मुसीकोट समाचारदाता
रुकुमपश्चिम, कात्तिक १७ गते । मुसीकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा कार्यरत आठ कर्मचारी अनधिकृत भएको पाइएको छ ।
विद्यालय प्रशासनले १२ वर्षदेखि कार्यरत आठ कर्मचारी अनधिकृत भएकाले कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक गोपीराम केसीका अनुसार २०६८ सालमा एक विनियमावली बनाई विभिन्न पद सिर्जना गरेर नियुक्त गरिएका आठ जनाको नियुक्ति प्रक्रिया अनधिकृत छ । विद्यालय प्रशासनले ती कर्मचारीको नियुक्ति कानुनविपरीत भएको निष्कर्ष निकालेको छ ।
तत्कालीन अवस्थामा बनाइएको शिक्षक तथा कर्मचारी व्यवस्थापन विनियमावली, २०६८ अनधिकृत भएको पुष्टि भएपछि कर्मचारी पनि अनधिकृत भएको विद्यालय प्रशासनको ठम्याइ छ । सोही विनियमावलीमा टेकेर नियुक्त गरिएका प्रशासनिक अधिकृत जयराम थापा, लेखापाल ठकबहादुर बुढाथोकी, कार्यालय सहायक गौरी रावत केसी, पुस्तकालय सहायक रमा शाह, कार्यालय सहयोगी डम्बरबहादुर महत, दुर्गाबहादुर खड्का, नरेश केसी र शिवराम भण्डारीको पद अनधिकृत भएको प्रधानाध्यापक केसीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीका अनुसार उक्त विनियमावली तत्कालीन जिल्ला शिक्षा समितिबाट स्वीकृति लिई जिल्ला शिक्षा कार्यालयमा अभिलेखीकरण हुनुपथ्र्यो तर त्यसो नभएर हचुवाका भरमा कर्मचारी भर्ना गरिएको उहाँको भनाइ छ ।
प्रशासनिक अधिकृत थापाको पद खारेज गरिएको र लेखापाल बुढाथोकीलाई अवकाश दिइएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले लेखापाल बुढाथोकीलाई आफ्नो नाममा रहेको बेरुजु भुक्तानी गर्नुपर्ने भनेर गरिएको परिपत्रको बेवास्ता गरेको र मागिएको स्पष्टीकरणको समेत पर्बाह नगरी मनपरी गरेकाले अवकाश दिइएको हो । यसका साथै बाँकी छ कर्मचारीलाई तत्काल करारमा काम गर्न भनिएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले विद्यालयका सबै काम विधि प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो । जिल्लाको सबैभन्दा जेठो विद्यालय ऋणमा चलेको र कर्मचारीलाई तलबसमेत खुवाउन मुस्किल भइरहेका बेला विद्यालय प्रशासनले कर्मचारी भर्नाको प्रक्रिया अनियमित तरिकाले गरेको जनाएको छ ।