जुम्ला समाचारदाता
जुम्ला, कात्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणले जुम्लामा ७० मेगावाटको जलविद्युत् उत्पादन गर्ने भएको छ । जुम्लाको तिला नदीमा ७० मेगावाटको विद्युत्का लागि जवा–तिला जलविद्युत् आयोजनाको लाइसेन्स स्वीकृत गरिएपछि विद्युत् निर्माणको काम थालिने भएको छ ।
जिल्लाको तिला गाउँपालिकामा बगिरहेको तिला नदीबाट विद्युत् उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणले इन्जिनियरसहितको टोली खटाएर सर्भे गर्नुका साथै सो क्षेत्रमा विद्युत् आयोजना निर्माण प्रक्रियाका लागि नेपाल विद्युत् विकास बोर्डले लाइसेन्स प्रदान गरेको प्राधिकरणका इन्जिनियर कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोली जुम्ला आएर भौगोलिक अवलोकनसहित आवश्यक काम गरेपछि लाइसेन्स प्रदान गरिएको हो ।
पूर्वमन्त्री नरेश भण्डारीका अनुसार तिला नदीमा ७० मेगावाट विद्युत् लाइसेन्स दुई वर्ष लामो समयदेखि पहल भएको हो । नेपाल विद्युत् प्राधिकरणले ७० मेगावाट क्षमताको जवा–तिला जलविद्युत् आयोजना निर्माणका लागि सर्भे लाइसेन्स प्राप्त गरेको छ । जुम्लाको तिला नदीमा मेगावाटस्तरको बत्ती स्थापना गर्न दुई पटक इन्जिनियरको टोली जुम्लाको तिला नदीमा पुगी अध्ययन गरेर फर्किएको छ ।
तत्कालीन ऊर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरण बोर्डबाट निर्णय गराएर कार्यान्वयनको औपचारिक बाटो २०७८ असोज १७ गते प्रारम्भ भएको समयले झन्डै दुई वर्षपश्चात् लाइसेन्स प्राप्त भएको हो । अहिले प्रारम्भिक चरणमा एक करोड ६० लाख रकम निकासा गरिएको छ । जुम्लालाई सो रकम बजेट विनियोजन गरेर मेगावाटस्तरको बत्ती उत्पादन गर्ने प्राथमिकता रहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
जुम्लाको सबैभन्दा बढी क्षमताको जलविद्युत् आयोजना कुडारीमा बन्ने देखिएकाले आयोजना स्थल कुडारीलाई चयन गरिएको थियो । प्राधिकरणको बोर्डले १५० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । तथापि १५० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सम्भव नभएपछि ७० मेगावाटको योजना अघि बढाइएको हो ।