गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । ललितपुरमा प्रतिष्ठित ब्याड्मिन्टन प्रतियोगिताका रूपमा रहेको यल कप रनिङ शिल्डको १३ औँ संस्करण शनिबार सुरु हुनेभएको छ । ललितपुरका टोलबिच २०६५ मा पहिलो पटक भएको प्रतियोगिताको हरेक वर्ष फरक आयोजकले गर्ने परम्परा छ ।
यसपटक यो प्रतियोगिता ओकुबहाल टोलले आयोजना गर्देछ । ओकुबहाल टोल सुधार समिति तर महाबुद्ध यूथ क्लबको संयुक्त आयोजनामा हुने एक हप्ता लामो प्रतियोगितामा ललितपुरका ७० टोलबाट दुई सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । आयोजक महाबुद्ध क्लबका अध्यक्ष डिल्चन शाक्यले यल कपबाट थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको जानकारी दिनुभयो ।
अर्को आयोजक ओकुबहाल सुधार समितिका अध्यक्ष यशकुमार शाक्यले यु १५ ब्वाइज, मेन्स डबल्स, भेट्रान्स मेन्स डबल्स, मिक्स डबल्स र महिला एकल गरी पाँच इभेन्टमा प्रतियोगिता हुने जानकारी दिनुभयो । यस प्रतियोगिताको प्रमुख इभेन्टको रूपमा रहेको मेन्स डबल्समा विजेतालाई ट्रफीसहित ५० हजार रुपियाँ प्रदान गरिनेछ । यसैगरी उपविजेताले २५ हजार तथा तेस्रो हुने दुई जोडिलाई दस–दस हजार रुपियाँ पाउने छन् ।
यसैगरी यु १५ मा विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो स्थानमा रहने दुई खेलाडीले पाँच–पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । मिक्स डबल्समा शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः २५, १५ र पाँच–पाँच हजार रुपियाँ प्रदान गरिनेछ । यसैगरी भेट्रान्समा विजेताले २०, उपविजेताले दस र तेस्रो हुनेले पाँच–पाँच तथा महिला एकलमा विजेताले १५, उपविजेताले दस तथा सेमिफाइनलमा हार्ने दुई खेलाडीले पाँच–पाँच हजार रुपियाँ पाउनेछन् । यस प्रतियोगिताको बजेट साढे ३० लाख रुपियाँभन्दा बढी रहेको छ ।