कोकिला ढकाल
इलाम, कातिक १५ गते । इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी थालिएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर १ देखि ८ सम्म सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाेत्सव आयोजना गर्न लागिएको हो ।
रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्त्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महाेत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महायज्ञमा बौद्धगुरु र किराँत धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायत गर्ने जनाइएको छ । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको आयोजक समिति संयोजक प्रेम नाछिरिङ राईले बताउनुभयो ।
‘‘रामसार क्षेत्रमा सूचीकृत भएपछि देशमा मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा माइपोखरी क्षेत्र महत्त्वपूर्ण छ । यसको महत्त्वलाई विश्वभर प्रचार गराउन महाउत्सव आयोजना गर्न लागेका हौं । महाउत्सवमा विश्वभर छरिएर रहेका सनातन, बौद्ध र किराँत समुदायका धर्मालम्बीहरु आउनु नेछ ।’’ संयोजक राईले भन्नुभयो ‘हामी सबैको योगदान, माइपोखरी प्रचारप्रसारको महाअभियान’ नारा तय गरिएको छ यही अनुसार काम गरिरहेका छौं ।’’
महाउत्सवमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, हरेक साँझ गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किराँत गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहने महाेत्सव आयोजक समितिका प्रचार समिति संयोजक श्यामकुमार राईले बताउनुभयो ।
‘‘अहिले महोत्सवको प्रचारलाई नै तीव्र बनाएका छौं । महाेत्सवका लागि भिरालो जमिन सम्याउने, आगन्तुक तथा भक्तजनको आवतजावत सहज बनाउन बाटो सम्याउने जस्ता काम गरिरहेका छौं ’’ राईले भन्नुभयो । माइपोखरीमा पूजाआजा गर्दा विभिन्न भाकल र मनोकांक्षा पुरा हुने विश्वास गरिँदै आएको छ ।
माइपोखरीलाई सन् २००८ मा रामसार महासन्धिको दशौं बैठकले विश्वसम्पदा सूचीमा सूचीकृत गरेपछि अहिले माइपोखरीको जैविक विधिता अध्ययनरत गर्न विद्यार्थी पनि उत्तिकै आउने गरेका छन् ।
२१२१ मीटर उचाइमा रहेको माइपोखरी मध्य पहाडी क्षेत्रमा पर्ने नेपालकै पहिलो रामसार क्षेत्र पनि हो । १२ हेक्टरको जलाशय रहेको माइपोखरी क्षेत्र दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडिबुटीले ढाकेको छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम् तीनदेखि अधिकतम् १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्ने माइपोखरी क्षेत्रमा १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, खस्रे पाहा, आहाले पाहा, ट्याङट्याङ पाहा, हरियो छेपारो, चङ्खे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् । तीन प्रजातिका रैथाने माछा पाइएका छन् । काकाकुल, भूँडीफोर, हिमाली गिद्धजस्ता तीन सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा । श्रीलङ्का–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद्हरु बताउँछन् ।
विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनहरुमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् । दर्जनौं प्रजातिका चाँप, कटुस, झिगाने, उत्तिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बुढोओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लाण्ट, शोभनीय बगैंचा देखिन्छन् यहाँ । प्रत्येकजसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अङ्कित गरिएको छ ।
माइपोखरी क्षेत्रको बहुआयामिक महत्त्व बुझ्न जान भने इलाम सदरमुकामबाट उत्तरमा विल्याँटे बजार हुँदै आधाजति कालोपत्रे र आधाजति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।