यो हावा–हुरी चल्ने मौसम होइन । बिल्कुलै होइन ।
चलिरहेछ तर । लगातार । पूर्वबाट । पश्चिमबाट । उत्तर–दक्षिण सबैतिरबाट । चारै दिशाबाट । अब त हावाले पनि आफ्नो गति छाडे जस्तो छ । चल्न थालेपछि हावाले पनि आफ्नो गन्तव्य बिर्संदो रहेछ । आफ्नो प्रवाह भुल्दो रहेछ । कहाँ र कसरी बहनु पर्छ, थाहा हुन्न रै’छ हावालाई पनि !
फेरि हावा चल्यो । थाहा भएन, कुन दिशाबाट ?
‘हिन मसँगै आज । पान–दस रूप्पे भए पनि आउँछ ।’
‘जान्नँ म । अस्ति त्यत्रो बडेमानको ट्याम्को बजाएँ । घर आउँदा खल्तीमा त्यैँ पान रूपपे बच्या’थ्यो ।’
‘आज त ठुलै पार्टीको हो क्या ! अलि बढी नै आउला । हिन्न, हिन ।’
बाउ–छोराबीचको संवाद टुङ्गियो यतिमै । बाउ त तयार छँदै थियो, छोरो पनि तयार भयो, तत्क्षण नै ।
बेमौसममा चलिरहेको हावाले बाउ–छोरालाई पटक्कै स्पर्श गरेन । दुवै हिँडे ।
चुनाव सन्मुख थियो । चारैतिर चुनावी माहोल व्याप्त । जिल्ला सदरमुकाममा हरेक दिनजसो नै चुनावी–सभा भइरहेथ्यो । एक दिन एउटा पार्टीको, अर्को दिन अर्कैको । राष्ट्रियदेखि भ्रष्ट्रियसम्म । सबै हैसियतका । जेहोस्, त्यो सानो सदरमुकाम चुनावी रङले यसरी रङ्गिएको थियो, लोककथामा उल्लिखित रङ्गीन स्याल झैँ । जुन स्यालले आफूलाई पक्डन आएका आम–पक्डालुलाई शतप्रतिशत बेवकुफ बनाएका थिए । एउटा धोबीले लुगा रङ्गाउन राखेको रङको भाँडोमा डुबेर । रङको भाँडोमा डुबेको स्याललाई कसैले चिन्न सकेनन् र उनी सकुशल बाँचे । कहाँ बाँच्नु मात्रै ! जङ्गलका अरू शक्तिशाली जनावरहरूलाई समेत उनले केही समय पूरै बेवकुफ बनाएका थिए । अहाँ ! कति मज्जाको कथा थियो त्यो ।
यो कथा स्यालको होइन । बाउ–छोराको हो । ती बाउ–छोरा, जसलाई समाजले ‘दलित’ को पगरी गुथाइदिएको थियो । उहिल्यैदेखि । जन्मजातै । सनई बजाउने जाति । लुगा सिउने जाति । अरूका घर घर चहारेर बाली उठाउने जाति ! अनेकानेक ।
बिहानै आइपुगे, राष्ट्रिय निर्णायक दलका जिल्ला–अध्यक्ष । दलबलसहित । कलकत्ते दमाईंको घर–आँगन टेक्न । बैँस छँदा उनी केही वर्ष कलकत्तामा बसेर फर्किएका हुँदा सबैले नाम दिए, ‘कलकत्ते दमाईं ।’
‘जदौ मालिक !’
‘अब हाम्लाई जदौ–सदौ भन्नु पर्दैन तिमेरूले । यो पुरानो जमानाको कुरो भयो अब । तिमी र हामी समान अब । टोटल्ली । को बाहुन, को दमै । सबै बराबर ।’ निर्णायक दलका जिल्ला–प्रमुख भक्तिप्रसादले भने, ‘काटे रातै रगत आउने त हो नि !’
केही गमेजस्तो गर्दै, पूरै लयमा भने उनले, ‘ए, कलकत्ते दाइ, यो माङ्लबार हाम्रो पार्टीको भव्य कार्यव्रmम छ, जिल्ला सदरमुकाममा । तपाईं यही सदरमुकाम नजिकको गाममा बस्नुहुन्छ ।’
आफ्नो छेउछाउ उभिएका कार्यकर्तातिर नजर ओछ्याउँदै उनले थपे, ‘तपाईंले यो गाँम्का सबैलाई ल्याउनुप¥यो । बाजागाजा बजाइदिनुप¥यो । नेताहरूलाई भव्य रूपमा स्वागत गर्नुप¥यो । यो तपाईं–हाम्रो दायित्व पनि हो । बरु त्यसबापत... त्यसबापत... अलिअलि... ।’
‘त्यसबापत भनेको...?’ कलकत्तेले सोधे ।
‘तपाईंलाई त्यसबापत... ।’ भक्तिप्रसादले भने ।
‘हजुर जस्तो ठुलाबडाले भनेपछि नाइँ भन्न मिलेन ।’ कलकत्तेले भने, ‘बरु हाम्ले कुन गीतको धुन बजाउने होला ? हामीलाई यो पार्टी–सार्टीको धुन त्यति थाहा पनि हुन्न । उही बिहेबटुलमा बजाउने धुन मात्रै थाहा छ, हाम्लाई त मालिक हजुर !’
‘तपाईंहरूलाई कुन गीतको धुन आउँछ ?’
‘त्यै त... ।’
‘के त्यै त...?’
‘जहिल्यै बिहेबटुलमा बजाएको धुन हजुर !’
‘काँ यो बिहेबटुलको धुन बजाएर हुन्छ र ! जनतालाई आकर्षित तुल्याउने धुन बजाउनु पर्छ ।’ भक्तिप्रसादले भने, ‘यस्तो धुन बजाउनुप¥यो, जुन धुन सुनेपछि जनताले हाम्रो पार्टीलाई हुरुरु भोट हालोस् ।’
भक्तिप्रसाद हाँसे । बेस्सरी । गाँठोयुक्त दिल पूरै फुकाएर । नजिकैको पीपलको बोटका हाँगामा मध्याह्नकालीन भोजन ग्रहण गरेर सुस्ताइरहेका परेवा, मलेवा र भँगेरोको बथान भुर्र उडे र केही परको चिलाउनेको हाँगामा गएर सुस्ताउन थाले । चिलाउनेको रुख पन्छीहरूको आश्रयस्थल बन्न पुग्यो ।
‘ल, ल, बुझेँ हजुर !’ कलकत्तेले दिव्यज्ञान प्राप्त गरे झैँ गरी भने, ‘बुझेँ, हजुर, अैले त पूरै बुझेँ । त्यै लालुपाते नुग्यो भैँतिर भन्ने गीतको धुन बजाउने होइन र भन्या ?’
‘हाम्रो कलकत्ते दाइ पनि कुरो त ठ्याक्कै बुझ्ने भन्या क्या !’ उनले भने, ‘यति बाठा मान्छे पहिल्यै फेला परेका भए हामी संविधानसभामै लैजान्थ्यौँ भन्या ! हेर त, यति बाठा मानिसलाई यो राज्जेले केही नै गरेन ।’ भक्तिप्रसादले थपे, ‘अब हाम्रो सर्कार बन्यो भने दाइलाई... पक्कै...।’
कलकत्ते गज्जबले हाँसे । बुझेर वा पूरै बुझ पचाएर ! उनको सुखी र समृद्ध हाँसोले पीपलको रुखमा विराजमान बाँकी–बक्यौता चराचुरुङ्गीहरू पनि उडे, सङ्क्षिप्त वेग मारेर । केही परको चिलाउनेको रुखमा एकत्रित हुन पुगे ।
शनिबारको दिन । राष्ट्रिय निर्णायक दलको भव्य आमसभा थियो । ओइरिएका थिए, धेरै नेता–कार्यकर्ता र जनता चाहिँ तैबिसेक कम नै ।
कलकत्तेको नेतृत्वमा नौ–दस जना नै तैनाथ थिए ।
‘कलकत्ते दाइ, त्याँ तलसम्म जानुप¥यो । हाम्रो नेता तल ओर्लिने रे ! त्यैँबाट उहाँलाई बाजागाजासहित ल्याउने प्लान छ ।’
अघिअघि कलकत्तेको बाजागाजासहितको टोली, पछिपछि खप्परेको टोली । खप्परे अर्थात् यो देशलाई चलाउने ठुलो खप्परवाला नेता । कलकत्तेको टोलीले समवेत् गान गुन्जाउँदै गए, ‘लालुपाते नुह्यो भैँतिर..., कि लाऊ माया मैतिर, कि लाऊ उइतिर, नलाऊ माया दुईतिर...।’
खप्परेको माया त कतितिर हो ! कतितिर ! गनेरै साध्य थिएन ।
त्यस दिन कलकत्ते दाइले आफ्नो कर्तव्य शतप्रतिशत नै निर्वाह गरे । घर पुगुन्जेलसम्म पनि उनको टोलीद्वारा प्रदर्शित कर्तव्यले विश्राम लिइसकेको थिएन ।
कलकत्तेको हातमा केही थान नयाँ नोट परेको थियो ।
एक बिहान उनी नयाँ नोट गन्दै बसिरहेका थिए, ‘अब यति पैसाले एउटा सुँगुरको पाठो किन्नुप¥यो । मैले त्यो मुग्देललाई एउटा पाठो त भनिसकेको छु । त्यल्ले बेच्यो कि, बेच्या छैन ! आजै गएर ल्याउनुपर्ला ।’
कलकत्तेले खल्तीमा केही नयाँ नोट घुसारे र मुग्देल कान्छोको घरतिर लम्किए । बोझे खोल्सीमा के पुगेका मात्र थिए उनी ! ढकाल गाउँबाट एक हुल मानिस आए र भने, ‘कलकत्ते दाइ, हामी तपाईंलाई नै खोज्दै आएका हौँ । कता हिँड्न लाग्नुभयो यति ब्यान–ब्यानै ?’
कलकत्तेले सहज भावमा भने, ‘हैन, एउटा सुँगुरको पाठो...।’
बोझे खोल्सी पानीविहीन थियो । हिम्दको दिनमा यस्तै हो । बर्सादमा भने निकै गड्गडाएर आउँछ । त्यो खोल्सीको शक्ति–सान नियाल्न बर्साद नै पर्खिनु पर्छ ।
‘आ, यस्तो पाठोसाठोका पछि नलाग्नुस्, हाम्रो पछि लाग्नुस्...।’ ती मानिसले भने, ‘भोलि हाम्रो पार्टीको विशाल आमसभा हुँदैछ, तपाईंले हाम्रा नेतालाई स्वागत गर्न बाजागाजा लिएर आउनुप¥यो । हामी तपाईंले भने जति दिइहाल्छौँ ।’
‘मालिकले भनेपछि... ।’ करिब पचास प्रतिशत जति खैनीले बिथोलेको गिजा देखाउँदै हाँसे, कलकत्ते ।
‘अनि दाइ...।’ ती मानिसले चुरोटले बिथोलेको गिजा भव्य रूपमा प्रदर्शन गर्दै भने ।
‘ए, कुरो बुझेँ । पहिला त हामी सँगै बसेर... । अचेल भने हजुर ठुलो नेता बन्नु भयो । हामीसँग बसेर कहाँ चल्छ र...?’ कलकत्तेले भने ।
‘त्यस्तो हैन दाइ । चल्न त अचेल पनि चल्छ नि !’ ती मानिसले भने, ‘हिजोआज घरमा पार्नुभएको छैन ? नभए... हामी आका छँदै छौँ नि !’
‘हुन्छ हजुर... कुनै दिन... चुनावपछि गर्दा हुन्न र ?’ कलकत्तेले भने ।
‘तर... ।’ ती मानिसले भने, ‘दाइ अहिले केही दिनु पर्छ भने दिम्ला । तर भोलि सबैलाई लिएर आउनुहोला है ।’
कलकत्तेले सोधे, ‘कुन गीतको धुन बजाउने नि ? पहिल्यै थाहा भए हुन्थ्यो हाम्लाई पनि ।’
‘कुन गीतको धुन राम्ररी बजाउन आउँछ, दाइहरूलाई ?’
‘हाम्ले त त्यै लालुपाते नुग्यो भुइँतिर भन्ने भाकाको गीतमा राम्ररी बजाउँछौँ ।’
‘ओके दाइ ! त्यै गीतमा धुन बजाए भइहाल्यो नि !’ ती नेताले भने, ‘आखिर माथिबाट आएका नेताहरूलाई स्वागत गर्ने कुरा न हो । उनीहरूलाई कुन गीतको के धुन भन्ने के थाहा र ?’
‘हुन्छ, मालिक हुन्छ ।’ कलकत्तेले दाहिने हात हावामा उचाल्दै भने, ‘जदौ, मालिक !’
तीन दिनसम्म लगातार खम्बेचौरमा गएर बाजा बजाउँदा बजाउँदा कलकत्ते पूरै थकित देखिएका थिए । उनी केही दिन विश्राम लिन चाहन्थे । तर अर्को साँझ एउटा टोली उनको आँगन झुल्कियो । त्यस टोली प्रमुखले भने, ‘दाइ, सन्चै ?’
हिउँदको बेला बारभरि गजक्क परेर फुलेका केत्तुके फूल झैँ गजक्क पर्दै कलकत्तेले भने, ‘सन्चो कि बिसन्चो ! केही दिनदेखि फुर्सदै पा’छुइनँ । अस्ति एउटा पार्टीको सभामा बजाउन गा’थेँ । झन् त्यसभन्दा अस्ति अर्कै पार्टीको... । अचेल त दिनहुँ जस्तै भइरहेको छ ।’
नीलो र उदात्त आकाशतिर नजर घुमाउँदै कलकत्तेले सोधे, ‘हैन, मालिक ! न बिहेबटुल, न व्रतवन्ध, अचेल हामीलाई यी पार्टीहरूले किन यसरी बोलाइरहेका छन् ?’
‘दाइ !’ राष्ट्रिय अकर्मण्य पार्टीको जिल्ला अध्यक्षले बिस्तारै, विनम्र–भावमा भने, ‘दाइ, तपाईंहरू भनेका यो राष्ट्रको गहना । तपाईंले बाजागाजा बजाएपछि के ठुला, के साना सबै दलको चुनावी सभामा मानिस ओइरिन्छन् । कुनै पार्टीको सभा नभई कुनै उत्सव भइरहेको छ कि जस्तो ठान्छन् सबैले । त्यसैले हाम्रो पार्टीको पर्सि भव्य आमसभा हुँदैछ । त्यही खम्बेचौरमा । केन्द्रीय नेताहरू आउँदैछन् । तपाईंहरूले आएर बाजागाजा बजाइदिनुभयो... ।’
‘हस्, मालिक ।’ कलकत्तेले भने, ‘अनि त्यो सभामा कुन गीतको धुन बजाउने नि ?’
‘हाम्लाई धुन–सुनसँग मतलब छैन । तपाईंहरूले जे बजाउनुभए पनि हुन्छ । बस, हामीले सभालाई भव्य बनाउनुछ ।’ अकर्मण्य पार्टीको नेताले भने ।
‘त्यसो भए त्यै धुन बजाउँछौँ... ।’
‘कुन धुन ?’
‘उही क्या उही । लालुपाते नुह्यो भैँतिर... ।’ कलकत्तेले भने ।
‘अहाँ ! कति राम्रो गीत !’ अकर्मण्य पार्टीको नेताले भने, ‘यो गीतको धुन बजेपछि त नरमाउने कुन चाहिँ नेता होलान् र ? ल, दाइ पर्सि है पर्सि ।’
चुनाव सकिएपछि कलकत्तेले एक रात त्यही गीतमा सनै फुके, ‘लालुपाते नुह्यो भैँतिर...।’ जुन गीतको धुन उनले तीन तीन वटा पार्टीको आमसभामा बजाएका थिए । सामूहिक । सबै पार्टीका नेताकार्यकर्ता त्यस धुनमा निमग्न भए । उनले सोचे, ‘फरक फरक पार्टी भए पनि धुन त सबैले एउटै मन पराउने रहेछन् ।’
केही दिनयता वर्षौं पुरानो कोटको खल्तीमा निस्लोट निदाइरहेको, आधासरो ओइलिएको ‘सूर्य’ चुरोट निकालेर सल्काए उनले । पल्लो टोलको भोटाङेको घरबाट दिउँसो किनेर ल्याएको लोकल ठर्रा गिलासमा खन्याउँदै भावविभोर मुद्रामा उभिए । वरपरका वन–जङ्गल, खोला–खोल्सी र बिलाउँदै गएका डगरतिर आँखा तन्काउँदै उनले फेरि सनै फुके र भने, ‘कि लाऊ माया मैतिर, नलाऊ दुईतिर... ।’
गोधूलि समयमा मेलाबाट उनकी पत्नी फर्किंदा उनी लघु–वृत्तको पिँढीमा लम्पसार परिसकेका थिए । उनको उदरबाट उपल्लो थलो हुँदै निःशृत वस्तुहरूले पिँढीको सौन्दर्यलाई नराम्ररी गिजोलिरहेको थियो र केही दर्जन झिँगाहरूको आवाज र राइँदाइँ सुन्न सकिन्थ्यो सहजै ।
लालुपाते भने शतप्रतिशत ओइलाउने उपव्रmममा थियो । रक्त रङरोगनबाट मोहभङ्ग भएर पूरै सेता, पहेँला, काला, बैजनी, गुलाबी, मायावी, सेता–सपाट यस्तै यस्तै रङहरूमा बदलिँदै थियो । एउटा रङ्गीन कलेवरबाट अर्कै रङ्गीन कलेवरमा छलाङ मार्दै थियो । ऐतिहासिक छलाङ । महान् छलाङ । अन्ततः जीर्णशीर्ण छलाङ । जे जस्तो भए पनि छलाङ त छलाङ नै हो । बाघले मार्ने छलाङ पनि छलाङ नै हो र भ्यागुताले मार्ने पनि छलाङ नै हो नि !
कलकत्ते पिँढीमा लम्पसार सुतिरहेकै बेला फेरि चल्न थाल्यो बेमौसमी हावा । यस पटक पनि थाहा भएन, यो हावा कता र कुन दिशाबाट बहेको हो– पूर्व, पश्चिम, उत्तर वा दक्षिणबाट !
बेमौसमी हावा अझै चल्न छाडेको थिएन ।