• ८ जेठ २०८१, मङ्गलबार

रहस्यमय अङ्गच्छेदन

blog

शताब्दीयौँदेखि गाईबस्तुको रहस्यमय अङ्गच्छेदनको घटना भइरहेका छन् । आमसिकारीदेखि अज्ञात उडनतस्तरी यी घटनाका जिम्मेवार रहेको व्याख्या हुने गरेको छ । वास्तविकता के हो ? 

मुर्दा गाईबस्तुको अवस्था देखेर तिनका पालक स्तब्ध हुन्थे । पशुका आँखा, कान, पेट, मलद्वार, यौन अङ्ग र जिब्रो चतु¥याइँपूर्वक काटिएको देख्दा यस्तो लाग्थ्यो धारिलो र सफा उपकरणले तिनलाई काटिएको हो । मरेका गाईबस्तुको शरीरमा रगतको थोपा हुँदैनथ्यो । घटनास्थलमा न त कसैको पदचिह्न देखिन्थ्यो न त त्यहाँ मौकाको फाइदा उठाउने मुर्दाखोर नै फेला पर्दथे । 

सन् १९७५ मा अप्रिलदेखि अक्टोबरबीचमा अमेरिकाको कोलोराडो राज्यमै गाईबस्तुको अङ्गच्छेदन गरिएको लगभग दुई सय घटना भएका थिए । स्थानीय पत्रिकाका मुद्दामा मात्र सीमित नभएर यी घटना राष्ट्रिय समस्याका रूपमा पहिचान गरिए । त्यस वर्ष कोलोराडो एसोसिएटेड प्रेसले यी मुद्दालाई राज्यको नम्बर एक समाचार मानेको थियो । त्यसबखत कोलोराडोका सिनेटर फ्लोयड हस्केलले फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) सँग यस विषयमा छानबिन गर्नुपर्ने माग नै गरे । 

सन् १९७० को दशकमा अमेरिकाको मध्य भागमा यस्तो घटना निरन्तर बढिरह्यो । सन् १९७९ मा त अङ्गच्छेदन गरी हजारौँ बस्तुभाउ मारिएको घटनाले करोडौँ डलरको पशुधन क्षति भएको कुरा उठ्यो । त्यसपछि मात्र न्यु मेक्सिकोको इन्डियन ल्यान्ड्समा भएका शृङ्खलाबद्ध घटनाले एफबिआईलाई अनुसन्धान गर्न बाध्य बनायो । विज्ञानमा रुचि राख्ने तथा हार्वर्डबाट जियोलोजीमा विद्यावारिधि गरेका र अपोलो–१७ को अन्तरिक्षयात्री भएर चन्द्रमामा पाइला टेकेका अमेरिकी सिनेटर ह्यारिसन स्मिटद्वारा आयोजित परिसंवादमा भएको चर्को बहसले समेत एफबिआईलाई अनुसन्धान सुरु गर्न दबाब परेको भन्न सकिन्छ । 

अन्नतः के भयो भने केही रहस्यमय घटना भइरहेको जुन विचार उब्जिएको थियो त्यसमा एफबिआईको अनुसन्धानले चिसो पानी खन्यादियो । सन् १९८० जनवरी १५ मा एफबिआईले अनुसन्धान सम्पन्न गर्दै भन्यो, “बस्तुभाउको अङ्गच्छेदनबाट भएको मृत्यु सम्बन्धमा जुन घटना ‘रिपोर्ट’ गरिएका छन् त्यो काम कुनै आमपरभक्षीबाहेक अरूको होइन ।” यस प्रतिवेदनलाई स्थानीयले ठाडै अस्वीकार गरिदिए ।

शैतान पन्थदेखि अज्ञात उडन तस्तरीसम्मको सिद्धान्त

पशुधनको अङ्गच्छेदनका रहस्यमय घटना सन् १९७० को दशक वा अमेरिकामा मात्र सीमित थिएन । भेडा, गाई वा घोडामा यस्तो खालका घटना इस्वी संवत्को १७ औँ शताब्दीको आरम्भतिर नै जानकारीमा आएका थिए र पछिल्लो समय सन् २०१९ मा यस्तो घटना भयो । तथापि सन् १९७० को दशकका घटना बढी चर्चामा आए । 

स्पष्ट रूपमा कुरा गर्दा पशुधनको अङ्गच्छेदन गरी हुने मृत्युका घटनासम्बन्धी बहसमा दुई धार देखिएको छ ः पहिलोले अङ्गच्छेदनलाई रहस्यमय अज्ञात घटना मानेको छ तथा जसले ती घटनालाई गाईबस्तुको सामान्य मृत्युका रूपमा हेरे, उनीहरूले समेत केही न केही असामान्य रहेको स्वीकार 

गरेका छन् ।

अज्ञात घटना मान्नेमा समेत सम्भावित कारणका बारेमा फरक मत देखियो । केही सरकारी कर्मचारीले विचित्रको धार्मिक अनुष्ठानका लागि गाईबस्तुको अङ्गच्छेदन गरिएको विचार राखे । सन् १९८० मा रोयल क्यानेडियन माउन्टेड पुलिसले आरोप लगायो, अङ्च्छेदन अज्ञात पन्थले गरेको हो । अमेरिकाको आयोवामा अपराध अनुसन्धान विभागले अङ्गच्छेदनमा दुष्ट शैतानको हात रहेको दाबी ग¥यो । 


पशुपालन गरिने क्षेत्रका समुदायमा चलेको कुरा अनुसार रहस्यमय हेलिकोप्टर देखिएपछि अङ्गच्छेदनको घटना हुने गरेको थियो । अङ्गच्छेदनका कारण धेरै पशुधन गुमाउनेले चाहिँ ती घटनालाई जैविक हतियार परीक्षणका लागि सङ्घीय सरकारको कृत्य माने । चौतर्फी दबाब बढ्न थालेपछि नेब्रास्काको नेसनल गार्डले आफ्ना हेलिकोप्टरलाई नियमित रूपमा उडान भर्ने उचाइ हजार फिटमा होइन दुई हजार फिटमा उडान भर्नुपर्ने आदेशसमेत जारी गरेको थियो । 

पृथ्वीकै अज्ञात प्राणीले गाईबस्तुको अङ्गच्छेदन गर्ने गरेको आरोप लगाउने पनि थिए । पृथ्वी बाहिरबाट आउने अज्ञात प्राणीले गाईबस्तुको अङ्गच्छेदन गर्छन् भन्ने मान्यतासमेत त्यस समय व्यापक थियो । स्ट्यानफर्डका शिक्षित लिन्डा माउल्टनले पशुधन अङ्गच्छेदनका हजारभन्दा बढी घटना अध्ययन गरी सन् १९८० मा ‘अ स्ट्रेन्ज हार्भेस्ट’ वृत्तचित्र बनाइन् । यस वृत्तचित्रले उनीलाई एमे अवार्डसमेत दिलायो । त्यसपछि सन् १९८९ मा उनले यसै विषयमा अर्को वृत्तचित्र बनाइन् : ‘एन लियन हार्भेस्ट’ । यस माध्यमबाट उनले निष्कर्ष निकालिन्, उडनतस्तरीबाट आउने अज्ञात प्राणी यी घटनामा सकभर जिम्मेवार छन् ।   

त्यसअघि सन् १९६७ सेप्टेम्बरमा भएको एउटा घटनाले उडनतस्तरीका अज्ञात प्राणीलाई दोष दिन मिल्ने परिस्थिति दर्शाउँछ । कुरा के भयो भने त्यस दिन कोलोराडोको अलामोसाको एउटा पशुफार्ममा लेडी नामको घोडा अङ्गच्छेदनबाट मरेको पाइयो । उसको लगभग सबै छाला तथा गिदी, फोक्सो, मुटु र थायराइड समेत सफाइपूर्वक निकालिएको थियो । घटनाको २४ घण्टाभित्र स्थानीय उच्च अदालतका न्यायाधीश चाल्र्स बेन्नेटले आकाशमा सुन्तला रङका तीन वटा रिङ देखे, जो निकै तेज गतिमा त्रिकोण आकार बनाएर उडिरहेका थिए । 


–युवामञ्च