तिलाचन पाण्डे
तम्घास(गुल्मी), मङ्सिर ३ गते । गुल्मीको सदरमुकाम तम्घासमा चल्ने अटो रिक्साको भाडामा एकरूपता छैन । अटो रिक्साको नियमन गर्ने निकायले पनि यसको व्यवस्थापनमा खासै चासो देखाएको पाइँदैन् ।
तम्घासमा चल्ने अटो रिक्साहरूले मनपरी भाडा लिएको गुनासो आइरहेको समयमा रेसुङ्गा नगरपालिकाले भाडादर निर्धारण गर्न सकेको छैन । यहाँ चल्ने तीन पाङ्ग्रे अटोले बजारदेखि उपल्ल्लो तम्घास मुख्य सडकसम्म एक सय पचास रुपियाँसम्म भाडा असुल्ने गर्दा पनि सरोकारवाला निकाय मौन रहेको पाइएको हो ।
२०७५ साल कात्तिक २९ गते नगरपालिकाले तत्कालिन नगर प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बैठक बसी नगरको भ्यालीभित्र ३० रुपियाँ, भ्याली बाहिर कच्ची सडकमा प्रति किलोमिटर १५ र पक्की सडकमा प्रति किलोमिटर १० रुपियाँका दरले भाडा लिने गरी निर्णय भएको थियो । तर उक्त निर्णय कागजमा मात्रै सिमीत रहेको पाइएको छ । त्यस पश्चात उक्त निर्णयलाई परिमार्जन पनि गरिएको छैन भने कार्यान्वयनमा पनि आउन सकेको छैन ।
रेसुङ्गा नगरपालिका राजस्व शाखामा कार्यरत जमुना बस्नेतले तल बजारबाट देउरालीसम्म गएको एक सय पचास रुपियाँ आफूले पनि तिर्न बाध्य भएको बताउनुभयो । तम्घासमा चल्ने अटो रिक्साहरूले मनपरी भाडा असुल गर्दा पनि सरोकारवाला निकाय मौन बस्नु दुःखद पक्ष भएको यहाँका स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।
नगर प्रमुख खिलध्वज पन्थीले अटो रिक्साहरूलाई बोलाएर भाडा निर्धारण गर्ने बताए पनि उपलब्धी भने देखिएको छैन । सूचना प्रविधि अधिकृत सुरेश खनालले तत्काल बैठक बसी भाडा निर्धारण गर्ने गरी नगर प्रमुख लागेको बताउनुभयो ।
नगरभित्र ४९ वटा अटो रिक्साहरू दर्ता भएका छन् भने ४२ वटा सञ्चालनमा रहेका छन् । बस्नेतका अनुसार यस आर्थिक वर्षमा १२ वटा मात्र नवीकरण भएका छन् ।