• १२ मंसिर २०८१, बुधबार

घरायसी आयुर्वेदिक औषधीमा ‘सिसा’

blog

काठमाडौँ, कात्तिक १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँघरमा घरायसी रूपमा उत्पादन हुने आयुर्वेदिक औषधीमा अत्यधिक सिसा (लिड) को प्रयोग हुने बताएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधी प्रयोग गर्ने बिरामीको रगतमा लिड (सिसा) को अत्यधिक मात्रा हुने सूचना प्रकाशित भएपछि आयुर्वेदतर्फका चिकित्सकले त्यसको विरोध गरेका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको सूचना सबै आयुर्वेदिक औषधी प्रयोगकर्तालाई नभई गाउँघरमा उत्पादन गर्ने आयुर्वेदिक औषधीबारेमा मात्र मन्त्रालयले स्पष्ट धारणा राखेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त आयुर्वेदिक औषधी कम्पनी रहेको भन्दै उहाँले ती कम्पनीका औषधी सेवन गर्ने बिरामीको रगतमा सिसाको मात्रा नहुने बताउनुभयो । “अझै पनि ग्रामीण क्षेत्रमा बिनादर्ता परम्परागत तथा आयुर्वेदिक औषधी उत्पादन भइरहेका छन्,” प्रवक्ता डा. बुढाथोकीले भन्नुभयो, “ती औषधीमा अत्यधिक मात्रामा लेड (सिसा) को प्रयोग गरिएको हुन्छ, मन्त्रालयले त्यस्ता औषधी सेवनकर्तालाई लक्षित गरेर जानकारी दिन खोजेको हो ।”

नेपाल आयुर्वेदिक चिकित्सक सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले स्वास्थ्य मन्त्रालयले गलत सूचना जारी गरेको बताउनुभयो । ग्रामीण क्षेत्रमा आयुर्वेदिक नभई परम्परागत औषधी बिनादर्ता जथाभाबी प्रयोग भइरहेको भन्दै उहाँले त्यसको अनुगमन नभएको बताउनुभयो । उहाँले आयुर्वेदिक औषधी विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार उत्पादन भइरहेको बताउनुभयो । भारत, जापान, चीनलगायतका देश आयुर्वेदिक उपचारमा अब्बल भएको भन्दै नेपालमा भने आयुर्वेदिकलाई कमजोर पार्न खोजिएको आरोप लगाउनुभयो ।  

यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिड (सिसा) को विषबारे जनचेतना फैल्याउन अन्तर्राष्ट्रिय  सचेतना सप्ताह–२०२३ मनाएको छ । नेपालमा ‘बाल्यकालमा हुने लिड (सिसा) को विषाक्तता अन्त्य गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२३ मनाएको हो । 

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सम्भाव्य स्रोतहरू रङ्गरोगन (पेन्ट्स), सौन्दर्यका प्रसाधन (लिपस्टिक, काजल), रङ्गीचङ्गी खेलौना, खानेकुरा (नुडल्स), आयुर्वेदिक औषधी आदि भएको जानकारीमा आएको बताउनुभयो । डा. बुढाथोकीले नेपाल सरकार लेडको प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको र यस्ता लेडको विषाक्तताबाट जोगिन सबै सचेत हुनुपर्ने जानकारी दिनुभयो ।