• ११ मंसिर २०८१, मङ्गलबार

आइसिसी टी–२० विश्वकप छनोट : युएई विजयी

blog

काठमाडौं, कात्तिक १३ गते । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ ।

युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाउनुभयो । उहाँले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाउनुभएको हो । त्यस्तै आशिफ खानले २३ रनको योगदान दिनुभयो भने कप्तान मोहम्मद वसिमले ११ रन बनाउनुभयो । बसिल अहम्मदले ११ जोड्नु भयो । बहराइनका लागि रिजवान बुट्टले दुई विकेट लिनुभयो भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक/एक विकेट झार्नुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाउनुभयो । उहाँले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाउनुभएको हो । त्यस्तै जुनेद अजिजले २५ रन जोड्नुभयो भने सोहिल अहम्मदले २८ रन बनाउनुभयो । 

युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई, दुई विकेट लिनुभयो भने अलि नासिर र कार्तिक मैइएप्पनले समान एक/एक विकेट झार्नुभयो ।