काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएको हो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनु भयो । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाउनु भयो ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सक्नु भएन ।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नु भएको छ । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नु भएको हो । । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिनु भयो ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो ।

सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो । लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।