• १२ मंसिर २०८१, बुधबार

सीमान्तकृत र लोपोन्मुख समुदायको निःशुल्क स्वास्थ्य बिमा

blog

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ।

अनिल पराजुली
हेटौँडा, कात्तिक १३ गते ।
 बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ‘ख’ वर्गका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बिमा गर्न लागेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पछाडि पारिएका समुदायहरूको निःशुल्क स्वास्थ्य बिमा गरिदिन लागेको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ख वर्ग भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गरिदिने सूचना अधिकारी भुसालले बताउनुभयो । लोपोन्मुख समुदायअन्तर्गत कुसुण्डा, राउटे, हायू, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा, कुशवाडिया र अति सीमान्तकृत समूहअन्तर्गत माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार÷सन्थाल, थामी, झागड, उराव, बोटे, दनुवार र बराम जाती पर्दछन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेश कार्यालय भक्तपुरसँग बिमाका लागि असोजमा सम्झौता गरिसकेको छ । २०८० असोज ४ देखि २०८१ असार समान्तसम्म लागू हुने गरी स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.खगेश्वर गेलाल र स्वास्थ्य बिमा बोर्ड बागमती प्रदेश संयोजक जीबलाल खरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्वास्थ्य बिमाको प्रिमियम भुक्तानी गर्न नेपाल सरकार र स्वास्थ्य बिमा बोर्डले तयार गरेको स्वास्थ्य बिमा नियमावली २०७५ बमोजिम स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराइने उल्लेख छ । बिमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार तीनहजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य सातसय थप गरी स्वास्थ्य बिमा गरिने उल्लेख छ । त्यस्तै, मन्त्रालयले महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको परिवारको बिमा बापतको ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ ।

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका १३ वटै जिल्लाका ११९ वटै स्थानीय तहका प्रत्येक वडाबाट नै तोकिएका व्यक्तिहरूको पहिचान गरेर स्वास्थ्य बिमा बापतको प्रिमियम रकम तिर्नेगरी तयारी गरिएको छ । स्वास्थ्य बिमा नभएका कारण औषधि उपचार गर्दा महँगो रकम तिर्नुपर्ने, पैसा अभावकै कारण उपचार पाउन समस्या हुने भएकाले प्रदेश सरकारले लक्षित वर्गलाई तोकेर बिमा गरिदिन लागेको हो । 

गत आर्थिक वर्षमा प्रदेशले चार जिल्लाका ६३७ परिवारको बिमा गरेको थियो । मकवानपुरका ६११, भक्तपुरका चार, ललितपुरका पाँच र चितवनका १७ परिवारको बिमा गरिएको हो ।