• १४ मंसिर २०८१, शुक्रबार

दसैँ मनाएपछि धान काट्न व्यस्त किसान

blog

पाल्पा समाचारदाता

पाल्पा, कात्तिक १३ गते । बडादसैँ मनाएपछि पाल्पाका किसान धान काट्न व्यस्त हुन थालेका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली स्याहार्न किसान खेतमा धाउन थालेका हुन् । दसैँ मनाएपछि पाल्पाको रामपुर, माडी, अर्गली, कचल, गेझा, झडेवा, पूर्वखोला फाँटका किसान पाकेको धान काट्न खेतमा व्यस्त बनेका छन् । 

दसैँअघि नै पाकेको धान खुरिएर खेतमै झर्ने डरले अधिकांश किसानलाई धान काटेर स्याहार्ने हतारो छ । दसैँको बेलामा पोकेको धान १० दिन स्याहार्न ढिला हुँदा यहाँका अधिकांश किसानलाई धान काट्ने र स्याहार्ने हतारो भएको हो । 

माडी कोलडाँडाका किसान खिन्तवीर चिदीले दसैँको बेलामा पाकेको धान समयमै स्याहार्न नपाउँदा पुनः खेतमै झर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । धानका बाला भाँचिएर दाना खेतमै झर्ने चिन्ताले अधिकांश किसानले धान काट्ने हतारो गर्दा ज्यामीको अभाव भएको उहाँले बताउनुभयो । बडादसैँका कारण यो वर्ष १० दिन ढिला गरी धान काट्न सुरु गरिएको किसानको भनाइ छ । दसैँ नभएको भए यतिबेला पाल्पाको माडीफाँटका अधिकांश किसानले धान काटेर थ्रेसर लगाइसकेका हुन्थे । 

धान काट्ने बेलामा चाडपर्व परेपछि अहिले सबैलाई धान काटेर सुकाउन हतार हतार भएको तानसेन–९, अम्लिहानका स्थानीय बासिन्दा बुद्ध बस्यालले बताउनुभयो । दसैँपछि सबै किसानले धान काट्ने हतारो गर्दा ज्यामीको समेत अभाव रहेको उहाँले बताउनुभयो । 

पछिल्लो समय पराल स्याहार्न, धान बोक्न, धान झार्न थ्रेसर, ट्याक्टरलगायतका मेसिनको प्रयोग भए पनि धान काट्न भने अझै मेसिनको प्रयोग हुन सकेको छैन । धान काट्ने मेसिनको प्रयोग नहुँदा ज्यामीको अभाव हुने गरेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार ठुला आकारका खेत र टारीखेतमा धान काट्ने मेसिनको प्रयोग गर्न सकिने भए पनि खासै प्रयोग हुन सकेको छैन । 

सो केन्द्रकी प्रमुख कामना अधिकारीले यस वर्ष पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । धानखेती आठ हजार ८२० हेक्टरमा गर्न सकिने भए पनि सिँचाइ अभावलगायतका कारणले करिब दुई सय हेक्टरमा धानखेती हुन सकेन ।