• ११ असोज २०८१, शुक्रबार

चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, कात्तिक १३ गते । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग खुल्ने क्रममा रहेको छ । गुलरिया–८ मा उद्योग स्थापना गर्ने गरी सो उद्योग दर्ता भएर सञ्चालनको तयारी भइरहेको छ । 

सो उद्योगका लगानीकर्ता सुप्रब धितालले उद्योगले जग्गा व्यवस्थापन गरी वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको जनाउँदै छिट्टै उद्योग सञ्चालनमा ल्याउने गरी तयारी अघि बढेको बताउनुभयो । उहाँले यो उद्योगमा ५०४ जनालाई रोजगारी प्रदान गरिने जनाउँदै तीमध्ये अधिकांश बर्दिया जिल्लाकै बासिन्दा हुने बताउनुभयो । सो उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त उद्योगका लागि १० हजार केभिएको प्रसारण लाइनको आवश्यकता पर्ने हुँदा सोका लागि पनि पहल सुरु गरिसकिएको छ । 

पछिल्लो समयमा आएर बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले सो उद्योग सञ्चालन गर्न थालिएको जनाइएको छ । 

हाल सेरामिक टायल विभिन्न देशबाट आयात हुने गरेको हुँदा महँगोसमेत पर्ने गरेका छन् । सो उद्योगले सेरामिक टायलको आयात विस्थापन गर्ने उद्देश्य लिएको लगानीकर्ता धितालले बताउनुभयो ।  ।

उद्योग प्रस्ताव गरिएको गुलरिया–८ का वडाध्यक्ष धर्मेन्द्रकुमार बनियाले उद्योगको काम धमाधम भइरहेको जनाउँदै यो उद्योगका कारण आफ्नो वडा पनि देश विदेशमा चिनिने तथा धेरै स्थानीयले रोजगारी पाउने बताउनुभयो  । उहाँले उद्योग सञ्चालनबाट स्थानीय उत्साहित रहेको र धेरै जना रोजगारी पाइने आसमा पनि रहेको जानकारी दिनुभयो । छिटोभन्दा छिटो उद्योग सञ्चालन हुने वातावरण बनाउन वडाले पूर्ण सहयोग गरिरहेको वडाध्यक्ष बनियाको भनाइ छ । 

गुलरिया नगरपालिकाका प्रवक्ता सुंधाशु शर्माले उद्योगको काम अन्तिम चरणमा पुगेको र सम्भवतः आगामी जनवरी महिनाबाट सञ्चालन गर्ने गरी निर्माण कार्य चलिरहेको बताउनुभयो ।