इनरुवा समाचारदाता
इनरुवा, कात्तिक १२ गते । वैदेशिक रोजगारीबाट स्वदेश फर्केका सुनसरीका एक युवकले चार वर्षदेखि आफ्नै घरमा च्याउ खेती थालेका छन् । विदेशमा छोटो समयको काम पाइने र त्यसमा पनि जोखिम धेरै हुने भएकाले जेनतेन दुई वर्ष खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर स्वदेश फर्केका वराहक्षेत्र नगरपालिका–११, मधुवनका रोशन गुप्ताले घरमै च्याउ खेती थाल्नुभएको हो ।
विदेशमा पाएको दुःखकष्ट बिर्सन र आफ्नो घरपरिवारसँगै बस्ने योजनाका साथ गुप्ताले च्याउ खेती थाल्नुभएको चार वर्ष पूरा भयो । विदेशभन्दा स्वदेशमै घरपरिवारसँग बस्दै काम गर्दै थोरै लगानीमा थालेको च्याउ खेतीले गुप्ताको दैनिक जीवनशैली र आर्थिक अवस्थासमेत फेरिएको छ ।
वराहक्षेत्र नगरपालिका–११, मधुवनमा दाजुभाइ कृषि फार्म खोलेर च्याउ खेती गर्दै आएको गुप्ताले बताउनुभयो । च्याउ लगाएको २३ देखि ३० दिनमा उत्पादन हुने भएकाले राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । गुप्ताका अनुसार दैनिक कममा ८० केजी र बढीमा १२० केजीसम्म च्याउ उत्पादन गर्दै बिक्री हुँदै आएको छ । घरमा परिवारका सदस्यहरू र दाजुभाइ मिलेर काम गरेकाले फर्मको नामसमेत दाजुभाइ कृषि फार्म राखेको गुप्ताले जानकारी दिनुभयो ।
गाउँमा उत्पादन भएको च्याउ बिक्रीका लागि बजारको समस्या नभएकाले नगदमै बिक्री हुने र मौसममा राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । दाजुभाइ कृषि फार्मले प्रत्येक वर्ष असोजबाट च्याउ खेती सुरु गरी चैतसम्म बर्सेनि छ महिनासम्म च्याउ लगाउने र त्यसबाट सरदर वार्षिक तीन लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताउँदै गुप्ताले फार्ममा च्याउका लागि दैनिक तीन-चार जनालाई ज्यालादारी रूपमा रोजगारीसमेत दिँदै आएको जानकारी दिनुभयो ।
गुप्ताले भन्नुभयो, “वैदेशिक रोजगारी भनेपछि मरिहत्ते गर्ने नेपाली युवाका लागि स्वदेशमै केही गर्नु पर्छ भन्ने सन्देश दिन पनि चाहन्छु ।” विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन र श्रम गर्न सके यहीँ केही गर्न सकिने भन्दै च्याउखेतीमा लागेको गुप्ताको कथन छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवा कोही दुःख पाएर फर्किन्छन् त कोही कमाएर पनि फर्किने गरेका छन् । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने युवाको सङ्ख्या भने कमै छ । त्यसमध्येका एक गुप्तालगायतका केही युवाले विदेशमा सिकेको सीपलाई स्वदेशमा सदुपयोग गर्न थालेका छन् । च्याउ बिक्रीबाट मात्रै मासिक २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको गुप्ताको भनाइ छ । श्रम र सीप प्रयोग गरेर गाउँमै व्यावसायिक बन्न सके रोजगारीका लागि भाँैतारिनु पर्दैन भन्ने सन्देश गुप्ताले दिएको स्थानीय सुरेन्द्र मेहताको भनाइ छ ।