• २६ वैशाख २०८१, बुधबार

‘प्रगाढ सम्बन्धका साथ विकासका लागि अघि बढ्छौं’

blog

दसैंमिलन कार्यक्रममा सहभागी प्रदेश प्रमुखसहितका अथितिहरु । तस्बिर : कृतबहादुर विष्ट

अविनाश चौधरी, कृतबहादुर विष्ट

धनगढी, कात्तिक ११ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश विकासका लागि हिजोभन्दा अझ प्रगाढ सम्बन्धका साथ अघि बढ्ने बताउनुभएको छ । 

प्रदेश सरकारद्वारा आज आयोजित दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्ष एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामीले समृद्धि, विकासको खाका कोर्नु छ । त्यसैले मेरो सबैलाई निवेदन छकी अबको दिनमा हामी हिजोकोभन्दा प्रगाढ सम्बन्धका साथ प्रदेशको विकासका लागि अगाडि बढ्नेछौं । हामीलाई दुर्गा भवानीले आशिष दिनु हुनेछ ।”

उहाँले दुर्गा भवानीको आशीर्वाद ग्रहण गर्दै सबैजना एकसूत्रमा बाँधिएर अगाडि बढ्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री शाहले दसैंमिलन कार्यक्रमले सत्तापक्ष र प्रतिपक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो । “हाम्रा विगतमा भएको कमी कमजोरीलाई त्याग्दै भोलिका दिनमा हामी नयाँ शिराबाट अघि बढ्ने सन्दर्भको रुपमा पनि यसलाई लिएका छौं” उहाँले अगाडि भन्नुभयो, “दसैंमिलन कार्यक्रममार्फत एकजुट हुन चाहन्छौं र यो सन्देश देशभरी फैलाउन चाहन्छौं ।”

शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, मन्त्रीहरु शिवराज भट्ट, प्रकाश देउवा, रमेश धामीसहित प्रदेश सभा सदस्य, राजनीतिक दल र पत्रकारको सहभागिता थियो ।