फुङ्लिङ, कात्तिक ११ गते । दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।
गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्नका लागि धरानदेखि कञ्चनजङ्घा क्षेत्र आउनुभएको हो । स्नातक तहमा अध्ययनरत उहाँले भन्नुभयो, “दसैँ तिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो । बिदाको समयमा कञ्चनजङ्घा क्षेत्रमा घुम्न आएको हुँ ।” लिम्बूसँगै धरान, झापा, पाँचथर जिल्लाबाट १६ आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेको कुम्भकर्ण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्नु प्रस्थान गर्नुभयो ।
शन्तकुमार नेम्बाङले यस वर्षको दसैँ हिमालतिरै बिताउनुभयो । गत फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि एक टोली लिएर कञ्चनजङ्घा क्षेत्र प्रवेश गर्नुभयो । लिम्बूको टोलीले कञ्चनजङ्घा क्षेत्रमा १० दिनसम्म घुमघाम गर्ने योजना बनाएर दसैँको समय परेर पाँचथर जिल्लाबाट कञ्चनजङ्घा क्षेत्र आउनुभएको लिम्बूले बताउनुभयो । ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौँबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजङ्घा प्रवेश गर्नुभयो । अहिले उहाँहरू कञ्चनजङ्घा आधार शिविर क्षेत्रतिर हुनुहुन्छ ।
कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । दसैँको समयमा कञ्चनजङ्घा क्षेत्रमा बाह्य पर्यटकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका-६ कञ्चनजङ्घा कञ्चनजङ्घा प्रवेशद्वारमा अवस्थित घुस्नाका होटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुस्सा बस्तीमा पर्यटकको चहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुस्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।
बाह्य पर्यटकले घुस्सा चेक पोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति आन्तरिक पर्यटकले अवलोकन गरे भन्ने तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर प्रत्येक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ ।
घुस्सा चेक पोष्टको तथ्याङ्कअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट तीन सय ५० जना बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको उहाँले बताउनुभयो ।
मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनु पूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो याममा ठुलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुस्नाका पर्यटन व्यवसायी पेमा शेर्पा बताउनुहुन्छ ।
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्त्वपूर्ण गन्तव्य हुने देखिन्छ । “घुम्न आउने सिजन सुरु भएको छ । कोरोनापछि यो पटक धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ”, घुस्नाका पर्यटन व्यवसायी धर्के शेर्पाले भन्नुभयो, “करिब १८-१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।”
पदयात्राका लागि यो क्षेत्र निकै महत्पूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेस क्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्पूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्त्वपूर्ण छ । ‘कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ । होटल, टी हाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ ।
यस क्षेत्रमा सडक निकै टाढा भएकाले टे«किङ गर्न उपयुक्त छ । विदेशीहरूले यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ । बस्नका लागि होटल सुविधा छ । आन्तरिक पर्यटकका लागि पनि महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटक पटक पुगेका उहाँ धेरै सम्भावना भए पनि केही ओझेलमा यो क्षेत्र रहेको छ ।
कञ्चनजङ्घा क्षेत्रमातर्फ उत्तरी र दक्षिणी बेस क्याम्प रहेका छन् । उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेस क्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्साहप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुस्सा र चेराम भन्ने ठाउँ जोड्ने सेलेले पास छ । यही पास गरेर दुवै बेस क्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ ।
दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुई वटा बेस क्याम्प उत्तिकै आकर्षक छन् । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रूपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्त्व निकै रहेको पाइन्छ ।
काठमाडौँदेखि टाढापर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हुँदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किराँत चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरू रहेका छन् । साझमा ठाँउठाँउमा हिमाल पोखरीमा टल्किन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साझसम्मका हिमालका बद्लिरहने हिमालका दृश्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्बिर खिच्ने उत्तिकै देखिन्छन् । रासस