मस्को, कात्तिक ११ गते । बढ्दो मुद्रास्फीतिको दबाब बिच रुसको केन्द्रीय बैङ्कले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।
हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैङ्कको अपेक्षाभन्दा अत्यधिक बढेको बैङ्क अफ रसियाले जनाएको छ । ब्याजदर बढेपछि पनि मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ । बैङ्कले सन् २०२३ का लागि आफ्नो मुद्रास्फीति प्रक्षेपण अघिल्लो ६–७ प्रतिशतबाट ७–७.५ प्रतिशतमा बढाएको छ । त्यसैगरी सन् २०२४ का लागि ४–४.५ प्रतिशतमा प्रक्षेपण समायोजन गरेको छ ।
बैङ्कले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैङ्क अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पुर्याएको थियो । रासस/सिन्ह्वा