• ११ मंसिर २०८१, मङ्गलबार

निर्धारित समयमा सम्पन्न तनहुँ जलविद्युतको काम धमाधम

blog

तनहुँ जलविद्युत आयोजनाको सुरुङ मार्ग । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, कात्तिक ११ गते । 
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । निर्धारित समयमा पूरा गर्ने उद्देश्य दसैँको बिदामा समेत काम जारी राखिएको हो । निर्धारित समयमा काम सम्पन्न गर्न सुरुङ निर्माण, नदी फर्काउने र प्रसारण लाइन लगायतको काममा कामदार तथा कर्मचारीहरू खटिएको आयोजनाका प्रमुख राजाभाइ शिल्पाकारले जानकारी दिनुभयो ।

ठेकेदार नियुक्ति तथा रद्द तथा नयाँ नियुक्तिमा भएको ढिलाइ लगायतले सुस्त भएको आयोजनाको काम कोरोना भाइरसले गर्दा गरिएको लकडाउनकै अवधिमा समेत नरोकी धमाधम गरिएको थियो । निर्माणाधीन आयोजनाको समग्रमा भौतिक प्रगतितर्फ हालसम्म ४६ प्रतिशत कार्य पूरा भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको अनुसार पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन भियतनाम र नेपालको कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । यसअन्तर्गत हाल मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङको निर्माण पूरा भइसकेको छ । बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् । हिउँद लागेपछि डाइभर्सन सुरुङ (टनेल)बाट पानी तर्काएर बाँध निर्माण स्थलमा सुख्या गरी बाँधको जग खन्ने काम गरिने छ । सुरुङ, विद्युत गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको आयोजनाले जनाएको छ ।

तेस्रो प्याकेजअन्तर्गत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनको ७० प्रतिशत काम पूरा भएको छ  । प्रसारण लाइनका लागि ९८ प्रतिशत समान आइसकेकाले काम गर्न सहज भएको छ ।  दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी को डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो  । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो ।

आयोजनाको विद्युत उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ ।

ऋषिङ गाउँपालिका–१ स्थित यस आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेते ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

कुल बजेटको ४० प्रतिशत खर्च भइसकेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले जानकारी दिनुभयो । स्थानीय बासिन्दा, प्रभावित बासिन्दा, राजनीतिक दल सबैको साथ र सहयोग मिलेको कामलाई द्रुत रूपमा अघि बढाउन सजिलो भएको शिल्पाकार बताउनुहुन्छ । सुख्खायाममा हुने विद्युत अभाव हटाउनका लागि कुलेखानी पछि तनहुँ जलविद्युत निर्माण गर्न लागिएको यसको ठुलो महत्त्व रहेको आयोजनाले जनाएको छ ।