• ६ माघ २०८१, आइतबार

चाडबाडमा निःशुल्क पानी वितरण

blog

बर्दिबास ३ गौरीडाँमा धाराबाट तीर्खा मेट्दै एक बालिका । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक ११ गते । चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ । 

सङ्घले दसैँ, तिहार तथा छठजस्ता चाडबाडको समय पारेर आफ्नो सेवाक्षेत्रका उपभोक्ताका लागि दसैँदेखि छठ (मङ्सिर ५ गते) सम्मका लागि पानी निःशुल्क गरेको हो । 

जिल्लाकै सुख्खाग्रस्त बर्दिबासमा सहज पानी आपूर्तिका लागि २२ वर्षअघि स्थापना भएको साना सहरी सरसफाइ तथा खानेपानी सङ्घको इतिहासमा निःशुल्क पानी वितरण गरेको हो । आर्थिक मन्दी र चरम महँगीको समयमा निःशुल्क पानी पाउँदा सर्वसाधारणले थोरै भए पनि राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् । 

सङ्घका अध्यक्ष भुलनसेन ठकुरीकाअनुसार यस अवधिमा २० लाख मूल्य बराबरको पानी वितरण गरिने संस्थानको भनाइ छ । प्रमुख चाडपर्वको शुभकामनासहित निःशुल्क पानी वितरण गर्ने निर्णय गरिएको सेनले बताउनुभयो । 

‘पानी हाम्रा उपभोक्ताका लागि सङ्घको तर्फबाट चाडपर्वको उपहार पनि हो’ अध्यक्ष सेनले भन्नुभयो । बर्दिबास खानेपानी सङ्घले उपभोक्तालाई न्यूनतम शुल्कबापत ८० रुपियाँमा महिनाको १० हजार लिटर पानी उपलब्ध गराउँदैआएको छ । यो महसुल मूलकमै सबैभन्दा सस्तो भएको बर्दिबास खानेपानीको दाबी छ । 

सङ्घले आफ्नो सेवाक्षेत्र रहेको बर्दिबास १, २, ३ र १४ वडामा करिब पाँच हजार ६०० परिवारमा धारा जडान गरी पानी वितरण गर्दैआएको छ । त्यसमध्ये सहुलियतका ३५ वटा धाराबाट गरिब तथा विपन्न समुदायका तिर्खा मेटदैआएको अध्यक्ष सेनले बताउनुभयो । 

सङ्घको कोषाध्यक्ष भोजप्रसाद फुयाँल (शङ्कर) ले पानीको सबैभन्दा बढी खपत हुने चाडबाडको बेला उपहारस्वरूप पानी वितरण गर्ने साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घ बर्दिबासको काम सराहनीय रहेको बताउनुभयो । यस अवधिमा पानीको न्यूनतम महसुल पनि छुट गरिएको छ । 

‘बर्दिबास खानेपानी उपभोक्ताको सम्पत्ति भएकाले पानीको दुरुपयोग नहुने विश्वासका साथ समितिले निःशुल्क वितरणको निर्णय गरेको हो’ फुयाँले बताउनुभयो । 

बर्दिबास ३ की गृहिणी सीतादेवी थापाले दसैँ लागेदेखि महँगीले ढाड सेकेको बेला निःशुल्क पानीले केही राहत पाएको प्रतिक्रिया दिनुभयो । ‘अचाक्ली महँगीको बेला सित्तैमा पानी खान पाइने खबरले अलिकति भए पनि मनलाई शीतल पारेको छ’ उहाँले भन्नुभयो ।