• ३ पुस २०८१, बुधबार

दुग्ध किसानले पाए ३६ लाख अनुदान

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ ।

दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

नगरपालिकाले सधैँजसो चालु आवमा पनि दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपियाँका दरले अनुदान दिने गरी बजेट विनियोजन गरेको खाणले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी  दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई अनुदान दिने व्यवस्था मिलाएका हौँ, दसैँका मुखमा नगद नै पाउनुभयो ।”

किसानले एक वर्षमा जति लिटर दुध सहकारीमार्फत बिक्री वा सङ्कलन गर्छन् सोही अनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालासँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधिसमेत जारी गरिसकेको छ । तिलोत्तमामा हाल १८ वटा दुग्ध उत्पादक सहकारी र एउटा चिस्यान केन्द्रसहित १९ वटा दुग्ध उत्पादक संस्था छन् । विभिन्न १६ वटा सहकारीले बिहीबार अनुदान रकम प्राप्त गरेका छन् ।

बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा वार्षिक ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ तर सबै दुध यहीँ सङ्कलन नहुने र अन्यत्रसमेत बिक्री हुने किसानको भनाइ छ । नगरको टिकुलीगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाखभन्दा बढी लिटर दुध सङ्कलन गर्दै आएको छ । सहकारीमार्फत तीन हजारभन्दा बढी किसानले दुध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध सङ्कलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्याङ्कमा छ ।

सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाई विवरण नगरपालिकालाई बुझाउनुपर्ने छ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको विश्वास छ । गरिब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको र सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो कामको निरन्तरता दिएको किसान खिमलाल पाण्डेको भनाइ छ । 

नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको नगरपालिकाका पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो । नगरपालिकामा हाल दुई हजार ७२२ किसानले पशुपालन गर्दै आएको तथ्याङ्क छ । नगरले उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, नीति तथा कार्यक्रम बजेटमै राखिएको छ ।