ढल्केबर समाचारदाता
ढल्केबर, कात्तिक ११ गते । धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वास्थित मुसहर बस्तीका ५५ वर्षीय श्रीप्रसाद सदा हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । आफू पनि बँधुवा मजदुरी गर्ने निरक्षर सदा पहिले आफ्नो हकअधिकारका कुरा राख्न अकमकाउनुहुन्थ्यो । अहिले उहाँ बँधुवा मजदुरलाई मुक्ति दिलाउन र मुसहर समुदायका अधिकारबारे खरर बोल्न सक्ने हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला पहिला आफ्नो समस्याको विषयमा बोल्न पनि सकिँदैनथ्यो । अचेल प्रधानमन्त्री, मधेश सरकारका मन्त्री, सभा सदस्य र स्थानीय जनप्रतिनिधिसमक्ष आफ्नो भनाइ निर्धक्क राख्छु ।”
“२०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तराईका बँधुवा मजदुरका बारेमा जानकारी गराउँदै मुक्तिका लागि स्पष्ट धारण राखेको थिएँ । अन्य प्रतिनिधिसँगै कुनै हिचकिचाहटबिना आफ्नो भनाइ राखेकै कारण तत्कालीन प्रधानमन्त्री देउवाले तराईका जिल्लामा सामाजिक कुप्रथाका रूपमा रहेको हरवाचरवा मुक्तिको घोषणा गर्नुभएको थियो,” सदाले भन्नुभयो ।
हरवाचरवा मुक्ति तथा उत्थानका क्षेत्रमा कार्यरत ‘फ्रिडम फन्ड युके’ को सहयोगमा सञ्चालित सामुदायिक सुधार केन्द्र धनुषाले अधिकारबारे लगातार सिकाउँदै गएपछि आफूसहित धेरै मुसहर समुदायको आँखा खुलेको उहाँको भनाइ छ । सुधार केन्द्रले प्रचलित कानुन, हकअधिकार र सरकारबाट प्राप्त सेवासुविधाबारे तालिम दिएको थियो । अझै पनि बेला बेला यस्तो तालिम दिँदै आएको छ । “तालिमपछि मुसहर समुदायका मुद्दा कसरी उठाउने भन्ने कुरा व्यवहारमा उतार्दै गएपछि अहिले हरवाचरवा अधिकार मञ्चको केन्द्रीय उपाध्यक्ष भएर बँधुवा मजदुरको मुक्तिका लागि नेतृत्व गर्दै आएको छु,” उहाँले भन्नुभयो ।
सोही बस्तीमा घर भएका हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाले आफूहरूलाई हकअधिकार र दायित्वबारे सुधार केन्द्रले सिकाएपछि बँधुवा मजदुरका समस्या सरकारसमक्ष राख्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी स्वास्थ्यचौकीमा निःशुल्क औषधी पाइन्छ भन्नेसम्म थाहा थिएन । तालिममा सिकाएपछि थाहा भयो ।” थोरबहुत कानुनका ज्ञान, जन्मदर्ता, मृत्युदर्ता र घटनादर्ता समयमै किन बनाउनु पर्छ भन्ने जानकारी पनि सोही तालिमबाट प्राप्त भएको उहाँको भनाइ छ । यसै गरी सोही गाउँमा गठित कमला हरवाचरवा समूहका अध्यक्ष परमकला सदाले मुसहर समुदायलाई सुधार केन्द्रले निरन्तर तालिम दिएर शिक्षित र सक्षम बनाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त अन्धकारमा रहेछौँ, सुधार केन्द्रले आँखा खोलिदियो, । जीवनको पहिलो कुरो त शिक्षा पो रहेछ । यो बुझेपछि मैले आफ्नो समुदायका महिलालाई पनि यस्तो कुरो साझा गर्ने गरेको छु ।”
सामुदायिक सुधार केन्द्र, धनुषाका अध्यक्ष सञ्जय साहले शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनका अवसरबाट वञ्चित मुसहर समुदायको उत्थानका निम्ति तालिमलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सहिदनगर नगरपालिकामा मात्रै आठ हजार ६८० घरपरिवार बँधुवा मजदुर रहेको जानकारी दिनुभयो । ती मजदुरको आर्थिक अवस्थामा सुधार ल्याउन दुई वर्षअघि साना व्यवसाय सहयोग कार्यक्रम अन्तर्गत २९ वटा समूहलाई ५१ हजार रुपियाँ र २० जनालाई १० हजार रुपियाँका दरले व्यक्तिगत सहयोग गरिएको थियो । बँधुवा मजदुरलाई आफ्नै व्यवसाय गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम तथा आर्थिक सहयोग गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
धनुषाको मुखियापट्टी मुसहरनिया, धनौजी, विदेह र सहिदनगरलगायतका पालिकामा रहेका मुसहर समुदायलाई तालिम तथा आर्थिक सहयोग गरेको जानकारी उहाँले दिनुभयो ।