• १५ मंसिर २०८१, शनिबार

दसैं मनाएर फर्किनेको बसपार्कमा भीड

blog

कालिपुल बसपार्कमा सवारी साधनको खोजीमा रहेका यात्रुहरु । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १० गते । दसैं मनाउन गाउँ आएकाहरु फर्किन थालेका छन् ।  घरबाट कार्यथलो फर्किनेहरू बढेपछि कालिपुल बसपार्कमा भीड बढेको छ ।

बसपार्कमा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रहरुले गुनासो गरेका छन् । पोखरा, काठमाडौं, नारायणगढलगायतका स्थानबाट म्याग्दी आएकाहरु कार्यथलोमा फर्किन थालेपछि दसैंको चौथो दिन बेनीको कालिपुल वसपार्कमा भीड बढेको छ । 

सीमित यातायातका साधनका कारण यात्रुहरुले टिकट पाउन सकिरहेका छैनन् । कालिपुल बसपार्कमा भेटिनुभएका चितवनका राजेन्द्र थपलियाले भन्नुभयो, ‘‘म पोखरा जाने बसको खोजीमा छु । टिकट पाउन सकिरहेको छैन । हामी पाँच जनाको समुह छ । काउन्टरका कर्मचारीले आजलाई टिकट सवै बुक भइसकेको बताउँछन् । कसरी जाने थाहा छैन ।’’ 

दसैं मनाएर फर्किनेहरु र दसैं विदामा घुम्न आएका सर्वसाधरणका कारण यात्रुको संख्या बढेकाले बस व्यवस्थापनमा समस्या भएको काउन्टरका कर्मचारीहरु बताउँछन् । 

बसपार्कमा सवारी साधन नपाएर समस्यामा परेका यात्रुलाई जिल्ला ट्राफिक कार्यालयले सहजीकरण गर्नेगरेको ट्राफिक प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो । यात्रुको गुनासोको सम्बोधन गर्न ट्राफिक प्रहरी खटिएको उहाँले बताउनुभयो ।