• ३० वैशाख २०८२, मङ्गलबार

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बस कारबाहीमा

blog

फाइल तस्बिर

दमौली, कात्तिक १० गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रूपियाँ भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । 

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुको भाडा फिर्ता गराइएको छ । दमौलीबाट काठमाडौँसम्मको भाडा छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले एक हजारसम्म लिने गरेको गुनासो आएको छ ।

विष्टले भन्नुभयो, “दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।” चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । रासस