काठमाडौं, कात्तिक ९ गते । कैलालीको धनगढी उपमहानगरपालिका – १२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका– ९ बङग्रा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका – ७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका – १७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोरङको केराबारी गाउँपालिका–८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।