• १४ मंसिर २०८१, शुक्रबार

नेपालगन्जमा कोक्रोमाको उत्पादन विक्री सुरु

blog

कोक्रोमा ब्रान्डबाट उत्पादन गरिएको कपडा एक बालकलाई लगाइदिनुहुँदै नाना चाचाका सञ्चालक निता जिसी । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

बाँके (खजुरी), कार्तिक ८ गते । नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण सुरु गरिएको छ । नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गर्नुभएको हो ।

नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले दसैँको अवसर पारेर कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो । बालबालिकाका लागि उत्पादन गरिएका कोक्रोमाको फ्रेन्चाइच उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको उहाँले बताउनुभयो । 

कोक्रोमा नेपाली बालबालिकाको एउटा कपडा ब्रान्ड भएको उहाँले जानकारी दिनुभयो । जेल जीवन बिताइरहेका कैदी महिलाहरू तथा सीमान्तकृत महिलाहरूले बुनेका कपडाहरू यस ब्रान्डमा प्रयोग गरिँदै आएको जिसीले जानकारी दिनुभयो । जिसीले त्यसता महिलाहरूको सीप तथा आर्थिक अवस्थामा वृद्धि गरी उहाँहरूलाई सशक्त बनाउन उहाँहरूद्वारा निर्मित कपडा प्रयोगमा ल्याइएको बताउनुभयो ।

नाना चाचाले कपासद्वारा कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण गर्ने कार्य गर्दै आएको छ । हाल काठमाडौँमा मात्र उत्पादन गरिए पनि अव बिस्तारै सेवा विस्तार गरेर नेपालगञ्मा पनि उत्पादन सुरु गरिने जिसीले जानकारी दिनुभयो । पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरेर जाडो तथा गर्मी सबै सिजनका कपडाहरू उत्पादन गरी विक्री वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पश्चिम नेपालमै पहिलो पटक कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत विक्री वितरण सुरु गरिएको बताउँदै जिसीले कोक्रोमाको उत्पादनहरू रसायन र एलर्जीहरूको जोखिम कम गर्ने खालका जैविक कपडाहरू भएको जानकारी दिनुभयो । आगामी दिनमा बालबालिकाको पास्नी र न्वारानको लागि कम्बो उपहार प्याक र पोषणयुक्त आहाराहरू पनि उपलब्ध गराइने जिसीले बताउनुभयो । 

अहिले बाँकेको नेपालगन्ज, खजुरा र काेहलपुर क्षेत्रमा सेवा दिने लक्ष्य रहेको र आगामी दिनमा माग बढेमा लुम्बिनी र कर्णाली प्रदेश भरि नै सेवा विस्तार गरिने योजना रहेको सञ्चालक जिसी जानकारी दिनुभयो ।

फुर्सद तथा खाली समयमा केही नयाँ कार्य गर्ने सोच आएपछि नेपाली जैविक कपडा अर्थात् रैथाने कपडाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अनलाइन सेवा सुरु गरेको जिसीले बताउनुभयो । 

काठमाण्डौं निवासी जिसी हाल नेपालगन्जमा बसोबास गर्दै आउनुभएको छ । जिसी काठमाण्डौंमा होटेल म्यानेजमेन्ट विषय अध्ययन पश्चात् ६ वर्ष चीनमा बसी त्यहाँको एक पाँच तारे होटेलमा अतिथि सम्बन्ध प्रबन्धकको रूपमा कार्य गर्नुभयो । नेपालमा सभा नेपालद्वारा सञ्चालित द भिलेज क्याफेमा अपरेसन म्यानेजरको रूपमा समेत कार्य गर्नुभयो । अङ्ग्रेजी र चिनियाँ भाषामा राम्रो दक्षता भएकी उद्यमी जिसीसँग कफी बरिष्टाको पनि राम्रो ज्ञान छ ।